Comments Add Comment

भूकम्प प्रतिरोधी नयाँ घर बनाए पनि पुरानै घरमा बास

४० प्रतिशत बढी मानिसहरु पुरानै घरमा बसिरहेको अनुमान

२७ असोज, रामेछाप । रामेछापका अधिकांश भूकम्प पीडितले नयाँ घर निर्माण गरे पनि जोखिमयुक्त पुरानै घरमा बस्दै आएका छन् । कतिपयले त नयाँ बनेका भूकम्प प्रतिरोधी घरहरुलाई घाँसपात राख्न र बाख्रा, कुखुरा थुन्न प्रयोग गरेका छन् ।

रामेछापमा २०७२ सालमा आएको विनासकारी भूकम्पले करिब ४८ हजार घरमा क्षति भएको थियो । तीमध्ये ४३ हजारले घर निर्माणको लागि सरकारसँग सम्झौता गरी पहिलो किस्ता रकम लिएका थिए । हालसम्म जिल्लामा ३६ हजारभन्दा बढी नयाँ घरहरु बनिसकेका छन् । पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ रामेछापका नायव सुब्बा दामोदर घिमिरेका अनुसार नयाँ बनेका भूकम्प प्रतिरोधी घरहरु एकतले, दुईतले देखि ३ कोठेसम्मका छन् ।

नयाँ घर बनाएकामध्ये ४० प्रतिशतभन्दा बढी मानिसहरुले भूकम्पमा कमजोर बनेका पुरानै घरहरुको प्रयोग गरिरहेको अनुमान छ

तर, धेरैजसो भूकम्प प्रभावितहरु नयाँ घरमा सरेका छैनन् । भूकम्पले कमजोर भएका पुराना घरहरु पनि भत्काइएको छैन । ‘पुरानै घरमा बस्दा फेरि भूकम्प आयो भने ठूलो क्षति हुने खतरा छ,’ नायब सुब्बा घिमिरे भन्छन्, ‘वर्षा वा ठूलो हावाहुरी चल्दासमेत त्यस्ता घरहरु भत्किने डर छ ।’

यस वर्षको वर्षामा रामेछापमा घर भत्किँदा ३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएकाहरु तीनै जना भूकम्पले क्षति पुर्‍याएका पुराना घरमा बसेका मानिसहरु भएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेल बताउँछन् ।

कतिपय भूकम्प प्रतिरोधी घरहरु भूकम्पले क्षति पुर्‍याएका पुराना घरकै आडमा बनाइएका छन् । ती घरमा मानिसहरु बसेका भए पनि पुराना घर भत्किँदा नयाँ घरमा समेत क्षति हुने खतरा छ । नयाँ घर बनाएकामध्ये ४० प्रतिशतभन्दा बढी मानिसहरुले भूकम्पमा कमजोर बनेका पुरानै घरहरुको प्रयोग गरिरहेको अनुमान छ ।

नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की भूकम्पले क्षति पुर्‍याएकै घरमा मानिसहरु बसीरहनु सुरक्षाको लागि ठूलो चुनौती रहेको बताउँछन् । स्थानीय सरकाले केही सहुलियतको व्यवस्था गरेर भए पनि पुराना घर भत्काउन लगाउनु पर्ने उनको भनाइ छ ।

कार्कीले भने, ‘केही गरेर भए पनि अब पुराना घर भत्काउन लगाउनु पर्‍यो । अधिकांस पुराना घरमा मान्छे बसेका छन् । मान्छे नबसेकोमा पनि घाँस राखेका छन्, बाख्रा, कखुरा थुनेका छन् । घाँस झिक्न जाँदा वा बाख्रा कुखुरा खोल्न गएको बेला भूकम्प आयो भने पनि त मानवीय क्षति हुनसक्छ ।’

– नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment