Comments Add Comment

दर्शकको विश्वास ब्रान्ड फिल्म र टिममाथि

वि.सं २०७६ को आधा बर्ष वितिसक्दा जम्मा ३ वटा चलचित्र क्लिन हिट देखिएका छन् । क्लिन हिट देखिएका तिन वटै चलचित्र ब्रान्ड बनाइसकेका चलचित्रका सिरिज वा टिमका हुन् । जेठमा रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ बक्स अफिसमा क्लिन हिट भयो । यो चलचित्रले निर्मातालाई राम्रो मुनाफा दिएको थियो ।

यसपछि, नेपाली चलचित्रकर्मीले अर्को क्लिन हिट खोज्नका लागि असोजको ३ गतेसम्म पर्खिनुपर्यो । असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि बक्स अफिसमा सुपरहिट भयो ।
‘जात्रै जात्रा र कबड्डी कबड्डी कबड्डी’ यसअघि नै हिट भैसकेका चलचित्रका सिक्वेल र सिरिज हुन् । दर्शकले यी दुबै चलचित्रका अघिल्ला भागलाई मन पराएका थिए ।

यसकारणले पनि यी चलचित्रप्रति दर्शकको क्रेज गज्जबको देखियो । ‘जात्रै जात्रा’ समिक्षागत रुपमा पनि सफल देखियो भने ‘कबड्डी कबड्डी कबड्डी’ समिक्षामा कमजोर, बक्स अफिसमा बलियो देखिएको थियो ।
शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’लाई समिक्षकले ‘छक्का पन्जा’कै परिष्कृत रुप भनेका छन् ।

यो चलचित्र पनि ३ दिनमै क्लिन हिट भैसकेको छ । चलचित्रले अब कमाउने रकम निर्माताका लागि पुरा मुनाफा हो । दिपकराज गिरी र उनको टिमले चलचित्र क्षेत्रमा एउटा ब्रान्ड बनाइसकेको छ । यसैले, पनि यसको प्रत्यक्ष फाइदा ‘छ माया छपक्कै’मा देखिएको छ ।

यसरी हेर्दा मध्य बर्षमा आइपुग्दा दर्शकको विश्वास ब्रान्ड चलचित्र र टिममा मात्र देखिएको छ । यसको कारण खोतल्न आवश्यक छ । किनकी, केही नाम बनाएका टिम र चलचित्र मात्र चलेर चलचित्र क्षेत्रलाई पर्याप्त हुँदैन । यी बाहेक नयाँ नाममा बनेका अधिकांश चलचित्र असफल छन् ।

गतबर्षको अवस्था पनि यस्तै थियो । ‘नाई नभन्नु ल ५, छक्का पन्जा ३, ए मेरो हजुर ३’ नै बक्स अफिसमा चम्किएका थिए । सोचनिय बिषय के छ भने, ‘नाई नभन्नु ल’को सिरिज बनाएर हिट भएका निर्देशक विकासराज आचार्य चलचित्र ‘हजार जुनी सम्म’ बनाउँदा यो बर्ष चिप्लिए ।

चलचित्र क्षेत्रमा गज्जबको क्रेज बनाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यो बर्ष ‘मारुनी र रातो टिका निधारमा’बाट चिप्लिइन् । नेपाली चलचित्रले दर्शकको विश्वास जित्न नसक्नु यसको एउटा कारण हो । कथा भन्ने शैली परिवर्तन नहुँदा दर्शकले केही टिम र ब्रान्ड चलचित्रलाई मात्र विश्वास गर्नुपर्ने अवस्था आएको छ । बर्षमा बन्ने सय हारहारीका चलचित्रमध्ये केही ब्रान्ड र टिमले मात्र चलचित्र क्षेत्रलाई धान्न सक्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment