Comments Add Comment

प्रदेश ५ लाई सडक मानवमुक्त बनाउने अभियान सुरु

२७ असोज, बुटवल । पाल्पा र बुटवलमा पर्ने दुईवटा सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न बसेका डेढ दर्जन व्यक्तिलाई हटाएर प्रदेश ५लाई सडक मानवमुक्त बनाउने अभियान सुरु भएको छ ।

प्रदेश सरकारले गत वर्ष घोषणा गरेको अभियानले आइतबारबाट औपचारिकता पाएको हो । सामाजिक विकास मन्त्रालयले पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा औपचारिक कार्यक्रम गरी प्रदेशलाई सडक मानवमुक्त र भिक्षा निषेध प्रदेश बनाउने कामको थालनी भएको घोषणा गरेको हो ।

सिद्धबाबा मन्दिरमा भिक्षा मागेर बस्दै आएका १८ जना मध्ये सात जनालाई मानव सेवा आश्रममा ल्याएर मठमन्दिर र सडकलाई भिक्षा निषेध र सडक मानवमुक्त अभियान सुरु गरिएको हो । त्यहाँ बस्दै आएकाहरुलाई मन्त्री सुदर्शन बरालले घर परिवार नभएको भए मानव सेवा आश्रममा जान तर मन्दिर परिसरमा बसेर नमाग्न आग्रह गरेका थिए । मन्त्रीको आग्रहपछि १८ जना मध्ये ११ जना भने आफ्नो घर परिवार रहेको भन्दै आश्रममा जान मानेनन् र त्यहाँबाट हटे । ‘अब प्रदेशका कुनै पनि धार्मिक स्थल र सडक पेटीमा बसेर भिक्षा माग्न पाइने छैन,’ मन्त्री बरालले भने, ‘घरबारविहीन, बेसहारा, परिवारबाट परित्याग, असहाय तथा जीवन जोखिममा रहेकाहरुलाई मानव सेवा आश्रममा बस्ने खाने व्यवस्था प्रदेश सरकारले गरेको छ ।’ अब मन्दिर परिसरमा आएर माग्न बसेमा प्रहरी लगाएर हटाइने र कानून अनुसार कारवाही गरिने सामाजिक विकास मन्त्री बरालले जानकारी गराए । मन्त्री बरालले मानवता र कानूनका हिसाबले सडकमा मागेर खानु समाजको कलंक भएकाले यो अभियान थालनी गरिएको बताए । ‘बेसहारा भए मानव सेवा आश्रम छ, रोगारी नभए प्रधानमन्त्री रोजगार कार्यक्रम छ,व्यक्तिलाई भिक्षा दिएर समस्या समाधान हुन्न,’ मन्त्री बरालले भने, ‘कसैले जबरजस्ती मागेर बस्छु भन्छ भने कानून अनुसार सजाय हुन्छ ।’

मन्त्रालयले प्रदेशलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमको सहकार्यमा बुटवलका लागि २५ लाख र नेपालगञ्जका लागि २५ लाख गरी ५० लाख रुपैयाँ विनियोजन गरेको छ । बुटवलमा ४ कठ्ठा जग्गामा आश्रमको चारतले भवन बनाउन लाग्ने खर्च प्रदेश सरकारले नै ब्यहोर्ने भएको छ । भवनको अनुमानित लागत १० करोड रहेको छ ।

मन्दिरमा बसेर माग्ने मध्ये अधिकांश घरबार भएका र भिक्षा पाएको रकमले मदिरा खाने समेत रहेकाले प्रदेश सरकारको यो अभियानले भिक्षा दिने र लिने सवैलाई निरुसाहित गर्ने सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए । सडक मानवका कारण मन्दिर दर्शन गर्न आउने भक्तजनमा समेत नकारात्मक प्रभाव परेकाले यो अभियानलाई सबै जिल्लामा कार्यान्वयनमा ल्याउनुपर्ने गुरुङले बताए ।

प्रदेश ५ का विभिन्न धार्मिक मठ मन्दिर र शहरका सडक पेटीमा भिक्षा मागेर जीवन गुजार्ने सडक मानव कति छन् भन्ने यकिन तथ्याङ्क नभएको मन्त्रालयकी सामाजिक विकास महाशाखाकी प्रमुख शारदा बस्यालले बताइन् । प्रदेश सरकारले अनाथ र जेष्ठ नागरिकको लागि रुपन्देहीकैं सैनामैना नगरपालिकामा जेष्ठ नागरिक केन्द्र निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सभा सदस्य तुलाराम घर्ती, तिनाउ गाउपालिका अध्यक्ष ओमबहादुर घर्ती र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले प्रदेश ५ सरकारको यो अभियान सबै प्रदेशका लागि अनुकरणीय रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment