Comments Add Comment

विराटनगरका ज्येष्ठ नागरिकले दशैंमा पाएनन् भत्ता

२७ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले यस वर्षको दशैंअघि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएन । दशैंअघि भत्ता नपाउँदा महानगरभित्रका पाँच हजार भन्दाबढी ज्येष्ठ नागरिकको दसैं खल्लो बन्न पुग्यो ।

सामाजिक सुरक्षा भत्ताबाट दशैंको गर्जाे टार्ने योजना बनाए पनि दशै‌ं अभावमै बितेको विराटनगर– ९ कि सुकमाया गुरुङले बताइन् । विराराटनगर – ९ कै बुचिया ठाकुर बैंकमा पटक पटक धाएर खाली हात फर्कनुपरेको गुनासो गर्छिन् । ‘भत्ता आयो कि भनेर ट्राफिकचोकको वाणिज्य बैंकसम्म पुगेँ’ ठाकुरले भनिन् ‘ तर पैसा आएन ।’

सरकारले चालु आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकहरुलाई मासिक तीन हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । महानगरले ढिलाइ गरेका कारण ज्येष्ठ नागरिकले भत्ता नपाएका हुन् ।

महानगरपालिकाबाट नयाँ आर्थिक वर्षको पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउनेहरुको संख्या ११ हजार ९ सय ८४ छ । जसमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या ५ हजार ३ सय ३ छ । ६० वर्ष भन्दामाथिका दलित ज्येष्ठ नागरिकको संख्या ६७७, एकल महिला ६८९, विधवा ४ हजार ९०, निलो कार्ड भएका अपाङ्ग ३०६, रातो कार्ड भएका अपाङ्ग २७६ र बालबालिका ६४२ छन् ।

जम्मा ११ हजार ९ सय ८४ जनाका लागि ११ करोड ५६ लाख ३० हजार २०० रुपैयाँ बैंकमा पठाइएको विराटनगर महानगरपालिका सामाजिक सुरक्षा साखाका अधिकृत लक्ष्मी धिमाल बताउँन् ।
बैंकले ढिलाइ गर्‍यो

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले बैंकका कारण ज्येष्ठ नागरिकले समयमा नै भत्ता नपाएको बताउँछन् । दशैंअघि खाता– खातामा हाल्न बैंकलाई रकम उपलब्ध गराए पनि वितरण नगरेको उनले बताए । तर दशैंपछि कार्यालय खुलेलगत्तै सामाजिक सुरक्षा भत्ता पाउनेहरुको खाता– खातामा भत्ता पुगेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment