Comments Add Comment

साउन र भदौमा आयात घट्यो, निर्यातमा उल्लेख्य वृद्धि

२७ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार चालु आवको दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो । उक्त आवको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको तथ्यांक रहेको छ ।

व्यापार घाटासमेत घट्दो क्रममा

तथ्यांक अनुसार आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटासमेत सच्चिन थालेको संकेत देखिएको छ । यस अवधिमा कूल व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा दुई महिनामा व्यापार घाटा ३.०५ प्रतिशतले कम भएको छ । उक्त आवको सोही अवधिमा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । यस वर्ष क्रमशः निर्यात वृद्धि र आयातमा भएको संकुचनले व्यापार घाटा न्यूनिकरणको संकेत देखिएको हो । दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापार भने २ खर्ब ४८ अर्ब ५५ लाख रुपैयाँ बराबरको भएको छ ।

नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत देखिने गरी वृद्धि भएको छ । तथ्यांक अनुसार यस वर्ष दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापारमा निर्याको हिस्सा ७.५ प्रतिशत रहँदा आयातको हिस्सा ९२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सामा २५.३८ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आवमा निर्यातको हिस्सा मात्र ५.९ प्रतिशत रहँदा आयातको हिस्सा ९४.१ प्रतिशत रहेको थियो ।

नेपालको कूल ११६ भन्दा बढी देशसँग वैदेशिक व्यापार रहेको छ । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा भारत र चीनसँग रहेको छ । चालु आवको पहिलो दुई महिनामा भारतबाट १ खर्ब ४३ अर्ब २३ करोड रुपैयाँ बराबरका सामान भित्रँदा भारततर्फ १२ अर्ब १५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

चीनबाट ४० अर्ब ५६ करोड ३७ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ भने २९ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु मात्र निर्यात भएको छ । चालु आवको पहिलो महिनाबाटै आयात घट्ने र निर्यात बढ्ने क्रम शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment