Comments Add Comment

एनआरएनएको कार्यालयमा ‘नेपाली पारा’ देखियो !

२७ असोज, काठमाडौं । विदेशमा रहेका नेपालीहरु नेपालभित्रको विसंगति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा बारम्बार चिन्ता व्यक्त गरिरहेका हुन्छन् । तर, विदेशमा बसेर उनीहरुले आफैंले चाहिँ कति अनुशासन सिकेका रहेछन् त ?

एनआरएनए सम्मेलनबारे जानकारी दिन संघको काठमाडौं कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा चाहिँ उनीहरुको ‘नेपाली पारा’ नै देखियो । बर्षौंदेखि विदेशी ज्ञान, शिप र शिक्षा र अनुशासन सिकेका नेपालीहरुको नेतृत्व लिन अग्रसर एनआरएनहरु कुनै पनि कोणबाट प्रेरणादायी लागेनन् ।

सभामुख निवास बालुवाटारको बायाँतर्फ एनआरएनएको निमार्णधीन भवन छ । त्यही भवनमा रहेको संस्थाको सचिवालयमा एनआरएनएको नवौं अधिवेशनका तयारी कार्यक्रमहरु भइरहेका छन् ।

उक्त भवनको प्रवेशद्वारभित्र र बाहिर प्रचार सामाग्री असरल्ल छरिएको देख्दा उनीहरूले विदेशबाट केही सिकेजस्तो देखिएन ।

कार्यालयको गेटमा केही युवतीहरु फलानालाई भोट दिनुहोस् भन्दै भिजिटिङ कार्ड र ब्रोसर बाँडिरहेका थिए । कार्यालयको कम्पाउण्ड बाहिर अव्यवस्थितरुपमा सवारी पार्किङ गरिएको थियो ।

अधिकांशले नेपाली ढाका टोपी लगाएको फोटो र आफ्नो परिचयसहितको  ब्रोसर बनाएर ढोकादेखि चोटासम्म बाँडिरहेका थिए । उनीहरुले बाँडेका ब्रोसर समात्नेहरु यसो हेर्दै सार्वजनिक ठाउँमा मिल्काएर फोहोर पारिरहेका थिए ।

विश्वका विभिन्न देशबाट एनआरएनएको ९ औं अधिवेशनका लागि १५ सयभन्दा धेरै प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । बुधबार हुने निर्वाचनमा भोट हाल्न उनीहरुले सोमबार साँझ ७ बजेसम्म एक सय डलर तिरेर मतदाता परिचय पत्र लिनुपर्ने छ ।

एनआरएनए कार्यालयको गेटबाट भित्र छिर्ने बितिक्कै एकसरो डोरीको धर्कोमा मतदाताहरु चर्को घाम सहेर लाइनमा उभिएका भेटिए । लाईनमा उम्मेदवारका कार्यकर्ताहरु भोट माग्दै कार्ड, ब्रोसर बाँड्दै हिंडेका भेटिए । यसले गर्दा कार्यालयको कम्पाउण्डभित्र हुलमुल देखिन्छ ।

अमेरिकाबाट अधिवेशनका लागि आएर सोही लाईनमा उभिएका एक प्रतिनिधिले नेपालीहरू नेपाल आएपछि यस्तै हुन्छन् भन्दै यातायात कार्यालयको जस्तो लाइनमा बस्नुपरेको गुनासो गरे ।

दुई पटक पत्रकार सम्मेलन !

यसअघि विमानस्थलमा रक्सीले मातेको आरोप लागेपछि विमान चढ्न रोक लागेका एनआरएनएका अध्यक्ष भवन भट्टले सोमबारको पत्रकार सम्मेलनमा अर्को जात्रा देखाए । पत्रकार सम्मेलन सकिएपछि आइपुगेका भट्टले आफ्नो अनुपस्थितिमा किन पत्रकार सम्मेलन गरेको भन्दै तत्कालै दोहोर्‍याएर पत्रकार सम्मेलन गर्दा सञ्चारकर्मीले अनौठो माने ।

एनआरएनएको अधिवेशन तयारीबारे जानकारी दिन सोमबार दिउँसो एक बजे पत्रकारहरुलाई निमन्त्रणा गरिएको थियो । सोही कार्यक्रममा एनआरएनएको अधिवेशन अवधिभरका लागि सञ्चार प्रतिनिधि प्रवेश पास पनि उपलब्ध गराइने जानकारी सञ्चारकर्मीलाई दिइएको थियो ।

निर्माणाधीन भवनको दोस्रो तलाको एउटा कोठामा पत्रकारहरू अटाएनन् । क्यामेराले एनआरएनएका पदाधिकारीलाई ढपक्कै ढाकेपछि सिटमा बस्ने पत्रकारले अगाडि बसेका मान्छे नै देखेनन् । न मञ्चमा बस्नेले पछाडिका पत्रकारलाई नै देखे ।

पत्रकार सम्मेलनमा दुई उपाध्यक्ष र महासचिव बद्री केसीले पत्रकारसँग कुराकानी गरे ।

पत्रकार सम्मेलन सकियो, सञ्चारकर्मीहरु कोठाबाट बाहिर निस्किएर कोही कार्यालयतिर हिँडे । कोही खाजा खान थाले । सोही बेला एनआरएनए अध्यक्ष भवन भट्ट पत्रकार सम्मेलनस्थलमा आइपुगे । अध्यक्षबिनै पत्रकार सम्मेलन सकिएको भन्दै भट्टले ढोकामै आक्रोश व्यक्त गरे ।

महासचिव खोज्दै आफ्नो सचिवालयमा उक्लेका भट्टले तुरुन्तै पहिलो पत्रकार भेटघाट भएकै कोठामा दोस्रोपटक पत्रकार सम्मेलन गरेर आफ्नो ढिलाई र एनआरएनएको कार्य प्रगतिबारे जानकारी दिए । अध्यक्षको पत्रकार सम्मेलनमा न्यून पत्रकार मात्रै थिए ।

आयोजकले उपस्थित पत्रकारहरुको रजिष्ट्रेशन गराएको थियो । पत्रकार सम्मेलनको अघिल्लोतिरबाट पत्रकारले आफ्नो नाम, नम्बर, ईमेल र हस्ताक्षर गर्दैै पछाडिसम्म ल्याइपुर्‍याएको रजिष्ट्रेशन पत्र आयोजकले कुर्सीमै छाडिदिएका थिए ।

पहिलो सम्मेलनको रजिष्ट्रेशन दोस्रो पत्रकार सम्मेलन सकिँदा पनि कसैले उठाएको थिएन । खाली कुर्सीमा मिल्किएको थियो ।

नसुध्रिएका नेपाली

अमेरिकाबाट आएका एनआरएनए गौतम दाहालले नेपालीहरु नसुध्रिएको भन्दै आक्रोश व्यक्त गरे । जुनसुकै देश र जतिसुकै शिक्षा र ज्ञान पाएको भए पनि जन्मथलो आएपछि अनुशासनहीनता देखिएको उनले बताए ।

भोट हाल्ने कार्ड लिन घण्टौं लाइन लाग्नुपर्ने स्थिति बनाइनु, पत्रकार सम्मेलन अस्तव्यत देखिनु, प्रचार शैली परम्परागत हुनु, संस्थाको हरहिसाब सार्वजनिक नगर्नु तथा संस्थाको नामबाट व्यक्तिले फाइदा लिने काम गर्नु एनआरएनएको हितमा नभएको दाहालको आरोप थियो ।

प्रतिनिधिले विरोध जनाएपछि प्रतिक्रिया दिँदै एनआरएनएका महासचिव डा. बद्री केसीले जति नै व्यवस्थित गर्न खोजे पनि आखिर नेपालीले ‘नेपालीपन’ देखाएरै छोडेको बताए । मतदाता परिचय पत्र लिन अक्टोबर ३ देखि खुल्ला गरिए पनि सबै मान्छे अन्तिम दिन मात्रै जम्मा भएको उनको भनाइ थियो ।

अनलाइनबाटै धेरै काम गर्न खोज्दा बरु खाडी देशका एनआरएनएले सहयोग गरे पनि विकसित भनिएका देशका एनआरएनएले नटेरेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment