Comments Add Comment

आजका पत्रपत्रिका : महरालाई पार्टीले कारबाही गरेन, सांसद् पद यथावत्

२८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा केन्द्रित रहँदै आएका अखबारहरू आजबाट विस्तारै अन्य विषयतर्फ सिफ्ट हुन थालेका छन् ।  पत्रपत्रिकाहरूले आज नेपाल–भारत ऊर्जासचिवस्तरीय बैठकका एजेन्डादेखि सभामुखका लागि नेकपाभित्र सुरु भएको दौडधुपसम्मका विषय उठाएका छन् ।

दशैं मानेर सिन्धुलीबाट फर्किंदै गरेको खचाखच बसको तस्वीर मुख पृष्ठमा छापेको कान्तिपुरले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन सरकारले यो वर्ष १३ वटा सुरुङमार्ग र अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको लेखेको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको र ५ वटाको बाँकी रहेको समाचारमा लेखिएको छ ।

प्रस्तावित त्यस्ता सुरुङमार्ग र अन्डरपासमा मा बुटवल–सिद्धबाबा, टोखा–छहरे–गुर्जे भञ्ज्याङ, कोटेश्वर–जडिबुटी, खुर्कोट–चियाबारी, थानकोट–चित्लाङलगायत छन् ।

पार्टीले कारबाही नगर्दा यौन दुव्र्यवहारको आरोप खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद् पद यथावत् रहेको खबर पनि आज कान्तिपुरले छापेको छ । प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि माननीय हैसियतमै छन् । मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारण मात्र सांसद् पद निलम्बित हुँदैन ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनीसम्बद्ध पार्टी नेकपाले महरालाई सभामुख र सांसद् पदबाट राजीनामा दिन भनेको थियो । पार्टी सचिवालय बैठकले सोहीअनुसारको निर्णय गरेको कुरा बाहिर आएको थियो । बैठकपछि पार्टी नेताहरुले महरा अब सांसद् नरहेको प्रतिक्रिया दिएका थिए । तर, सभामुखबाट राजीनामा दिएका महराले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छैनन् ।

रिक्त सभामुख पद हत्याउन नेकपामा दौडधुप बढेको खबर पनि कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ ।

अन्नपूर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको समाचार छापेको छ । पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगको परामर्शमा मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको अन्नपूर्णको दाबी छ ।

बालुवाटार स्रोतलाई उद्धृत गर्दै अन्नपूर्णले ६ मन्त्री हेरफेर हुनसक्ने सम्भावना औंल्याएको छ । तर, उसले कुन–कुन मन्त्री परिवर्तन हुँदैछन् भन्नेबारे भने केही उल्लेख गरेको छैन । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने तयारी ओलीले गरेको दाबी अन्नपूर्णको छ ।

यसबाहेक अन्नपूर्णले चिनियाँ राष्ट्रपतिको भ्रमणको समीक्षा पनि आज गरेको छ । भ्रमणले त्रिदेशीय सहकार्यको आधार तय गरेको निष्कर्ष अन्नपूर्णको छ ।

महम्मद अफ्ताब आलमको अपराधको रौंचिरा नागरिकले केलाएको छ भने सरकारी मुखपत्र गोरखापत्रले नेपाल चीनबीचको सम्झौता कार्यान्वयनमा दृढतापूर्वक लाग्ने भनेर उपप्रधान एवं रक्षा मन्त्रीले जनाएको प्रतिबद्धतालाई छापेको छ । राजधानीले सी भ्रमणकै विषयमा मुख्य समाचार बनाउँदै लेखेको छ– चीन विभाजन गर्न खोज्नेलाई सीले नेपाललबाटै चेतावनी दिएका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment