Comments Add Comment

सीकोे भ्रमण : परीक्षाको घडी सुरु भएको छ

चिनियाँ राष्ट्रपतिको भ्रमण एउटा ऐतिहासिक फड्को

चीनका रास्ट्रपतिको नेपाल भ्रमण भब्य र सफलतापूर्वक सम्पन्न भएको छ । यो भ्रमण हरेक हिसाबले ऐतिहासिक बन्यो । यसले सिर्जना गर्ने भविश्यका विविध कुराहरुले नेपाल र हिमालय क्षेत्रलाई दुरगामी असर पार्ने निश्चित छ । राष्ट्रिय सहमति कायम गराउँदै अहिलेको युगान्तकारी अवस्था सिर्जना गर्नु नेपाल सरकारको ठूलो सफलता हो ।

नेपालले अहिले देखाएको सुक्ष्म भू–राजनीतिक सुझबुझ, नेपालको बढ्दो राजनीतिक स्थायित्व, हिमालय क्षेत्रमा चीनले भोगेको विश्व भू–राजनीतिक टकराब, एसियाको उदय संगै चीन र भारत बीच बढ्दो मित्रता र केही वर्षदेखि स्वाधीनता र समृद्धिका लागि नेपालले देखाएको स्पष्ट अडानले यो सबै सम्भव भएको हो ।

संविधान जारी गर्नेबेला होस् अथवा नाकाबन्दीले थिलथिलो बनाएका बेला होस् यदि नेपालले आफ्नो सार्बभौमिकतालाइ कमजोर बनाउने गरी घुुँडा टेकेको भए अहिलेको अवस्था आउने थिएन । इतिहासले वर्तमान सिर्जना गरेको हुन्छ र यी केही घटनाक्रमहरु नेपालले गर्ब गर्न लायक विषय हुन् ।

यो भ्रमणबाट चीनले बहुत इमान्दारिताका साथ ठूलो विश्वास लिएर सहकार्यको हात फैलाएको प्रस्ट देखिन्छ । नेपाललाई कुनै विवादमा नपारी घनिष्ट सम्बन्ध विस्तार गर्ने चीनको चाहाना खुलेरै व्यक्त भए । नेपालमा रास्ट्रिय एकता कायम होस् र आफ्नो मौलिकखालको स्वाधीन विकासको मार्ग पहिल्याओस् भन्ने कामना प्रकट भए । यो भ्रमणले नेपालको आन्तरिक राजनीतिमा राष्ट्रिय एकताको सन्देश दिने मौका समेत प्रदान गर्‍यो ।

मूलभूत रुपमा बीआरआई लगायत अन्य कनेक्टिभिटी सम्बन्धी अवधारणामा राष्ट्रिय सहमति कायम भएको छ । विकास निर्माण र अन्तरराष्ट्रिय कनेक्टिभिटीमा अब सबैको एकमत हुने र राष्ट्रिय एजेन्डा भन्ने सम्भावना बढेर गएको छ ।

भ्रमणभन्दा पहिला प्रमाणमा आधारितभन्दा पनि लहडमा आधारित अनेकखाले तर्क–वितर्कहरु उठाइएका थिए । चीन ब्यापारी हो, नाफा भन्दा केही हेर्दैन, भन्ने कूटनीतिमा अलि अपमानजनक लाग्ने विचारहरु पनि प्रचारित भए । भ्रमणका बेला ऐतिहासिक सम्बन्ध विस्तार र नेपालले चाहेका क्षेत्रमा सहयोग गर्न तयार रहेको अभिव्यक्तिले त्यस्ता तर्कहरुको कुनै अर्थ नभएको प्रस्ट देखायो ।

नेपालजस्तो सानो अर्थतन्त्र भएको देशले चीनजस्तो विश्वव्यापी बनाइएको पश्चिमा नबउदारवादको विकल्प सिर्जना गर्दै एसियाको उदयको नेतृत्व गर्ने देशलाई ‘ब्यापारी’ मात्रै ठान्नु अहिलेको विश्व भूराजनीति र त्यसमा चीनको भूमिका नबुझ्नु नै हुन्छ ।

चीनले बीआरआईमार्फत नेपाललाई ऋणको भारी बोकाउने तर्कहरुले बजार लिएको थियो । भ्रमणका बेला सहयोग र सहकार्यमा जोड दिइएको देखियो, जसका कारणले यो तर्क पनि ओझेलमा पर्‍यो । वास्तवमा नेपालका भौतिक संरचनाहरु निर्माण गर्न र औद्योगिक विकासका आधार तयार गर्न सबैभन्दा धेरै सहयोग चीनले गरेको छ । राष्ट्रिय उद्योगहरु निर्माण गर्न, सडक सञ्जाल तयार गर्न, औद्योगिक क्षेत्रहरु निर्माण गर्न ठूलो सहयोग गरेको थियो । ती सबै सहयोगहरु निशुल्क थिए, सबै अनुदानमा थिए ।

हाल नेपालको झण्डै आठ खर्ब रुपैयाँजति बिदेशी ऋण छ । अहिलेसम्म नेपालको चीनसँग कुनै ऋण छैन भन्दा पनि हुन्छ । यो भ्रमणका बेला सहमति गरिएका सबै काम अनुदानमा सम्पन्न गर्ने कुरा छ ।

सहयोग लिनु दिनुका हिसाब–किताब सामान्य हुन् । दुई देशका सम्बन्धहरु कुनै ब्यापारिक लेनदेन होइनन् । तर, नेपालले अहिले खेपिरहेको विशेष खाले भू–राजनीतिक दबाव र समृद्धिको अभियानमा अघि बढेको आन्तरिक राजनीतिक अवस्थाका बीचमा चीनका राष्ट्रपतिको भ्रमणले नेपाललाई केही महत्वपूर्ण उपलब्धिहरु प्राप्त भएको छ ।

पहिलो, चीनले नेपाललाई रणनीतिकरुपमा महत्वपूर्ण देशका रुपमा सम्बन्ध विस्तार गर्ने नीति लिएको प्रष्टिएको छ । लामो समयदेखि हीनताबोधले जकडिएको नेपालले भूराजनीतिक रुपमा आफ्नो स्वतन्त्रतालाई उकास्ने मौका पाएको छ । यसले भारतबेष्ठित भएको हाम्रो लघुताभासबाट मुक्त हुन मद्दत गर्छ ।

नेपालको स्वतन्त्रता, सार्बभौमिकता र समृद्धिका लागि जस्तोसुकै सहयोग र सहकार्य गर्न पनि तयार रहेको कुरा आफ्नो लेख र मन्तव्यमार्फत चीनका राष्ट्रपतिले प्रस्टसँग दोहोर्‍याउनु नेपालका लागि दीर्घकालीन महत्व राख्ने विषय हुन् । नेपालले स्वतन्त्र रुपमा आफ्नो विकासको बाटो तय गरोस् भन्ने चीनको चाहना देखिन्छ । चीनले नेपालको विशेष भूराजनीतिक परिस्थितिलाई बुझेको छ र त्यहीअनुसार चीन सहकार्य गर्न तयार छ भन्ने उसको बुझाइ नेपालको हितमा छ ।

दोस्रो, चीनले नेपाललाई गौतम बुद्धको जन्मस्थान र बुद्ध धर्मको केन्द्रका रुपमा अघि सारेको प्रष्ट देखिन्छ । यो सामान्य हिसाबले देशको पहिचानको कुरा मात्रै नभएर दीर्घकालीन रुपमा नेपालको पर्यटन र आर्थिक विकासमा नै ठूलो उथल–पुथल ल्याउन सक्ने अभियान हो । सिल्करोडको विस्तार र बुद्ध धर्मको विस्तारका बेला इतिहासकालमा भएको तादात्म्यतलाई मध्यनजर राख्दै अहिलेको बीआरआईमा समेत बुद्ध र लुम्बिनीलाई केन्द्रमा राखेर भुजडित हुने वातावरणको सिर्जना भएको छ ।

तेस्रो, नेपालको भौतिक संरचना, विशेष गरी उत्तर–दक्षिण जोड्ने सडक र रेल सञ्जाल निर्माणका लागि खाका तयार गर्ने वातावरण बनेको छ । व्यापक अध्ययन र अनुसन्धान हुन अझै बाँकी नै छ । तर, अब यी भौतिक संरचनाहरुको निर्माणले गति लिने अवस्थाको सिर्जना भएको छ । पूर्व–पश्चिम र उत्तर दक्षिण जोडिने सडक सञ्जालले देशमा आर्थिक अवसरहरु सिर्जना गर्न ठूलो आधार तयार गर्छन् ।

डा. दिनेश पौडेल

चौथो, तीनवटा आर्थिक कोरिडोरहरु (कोशी, गण्डकी र कर्णाली) निर्माण गर्ने सहमति हुनु ठूलो अवसर हो । औद्योगिक परनिर्भरताले हाम्रो अर्थतन्त्र नै डामाडोल बनाएको छ र नेपालमा भएका उद्योगहरु नष्ट भएर जानु नेपालको सबैभन्दा ठूलो समस्या हो । कोरिडोरहरु कसरी निर्माण गर्ने भन्ने खाका बनिसकेको छैन, चुनौतीहरु थुप्रै छन् । तर, आर्थिक कोरिडोरहरुको निर्माणले देशको आर्थिक उत्पादन बढाउँछ ।

पाँचौं, चीनका राष्ट्रपतिले हिमालय क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौती हो भन्नु र यसको असर कम गर्न सहकार्य गर्ने अठोट आउनु ठूलो उपलब्धि हो । वास्तावमै हाम्रो सबै भन्दा ठूलो चुनौती नै जलवायु परिवर्तनले ल्याएका असरहरुलाई कसरी कम गर्ने भन्ने नै हो । यो समस्यालाई बेलैमा ब्यापक तयारीका साथ सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो संकट आइलाग्ने कुरा निश्चित छ ।

छैठौं, बीआरआईको साताैं कोरिडोरको रुपमा घोषणा नै भैनसकेको भएता पनि नेपाल र चीन जोड्ने हिमालयन बीआरआइले अब मूर्त रुप लिएको छ । यो अभियानले अब हिमालयलाइ पर्खाल होइन, कनेक्टिभिटीको पिल्लर बनाइदिएको छ । नेपालको स्वतन्त्रता र समृद्धिका लागि यो ऐतिहासिक अवस्था हो । हिमालय क्षेत्रमा आएको ठूलो परिवर्तन हो यो ।

यो भ्रमणबाट चीनलेसमेत ठूलो सफलता हात पारेको छ । नेपाल र हिमालय क्षेत्रमा बीआरआइले संस्थागत रुप लिएको छ । चीनका लागि यो ठूलो उपलब्धि हो ।

यसका साथै चीनले दक्षिण एसियातर्फ आफ्नो ढोकासमेत खुलेको महसुस गरेको हुनु पर्छ । भारतसँगको बढ्दो सहकार्य र नेपालमा बीरआरआईको घनिभूत सुरुवात चीनका लागि सुखद कुरा हो । चीनका ब्यापारी बर्गका लागि नेपाल तथा हिमालय क्षेत्रमा लगानीका अवसरहरु प्रशस्त वृद्धि हुनेछन् । साथै चीनका राष्ट्रपतिको सरल, बौद्धिक र क्षमतावान व्यक्तित्वले नेपालीहरुको मन जित्न सफल भएको छ ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले महत्वपूर्ण सन्देशहरु पनि दिएर गए । नेपाललाई रणनीतिक महत्वको देशका रुपमा स्वीकारेको देखियो । पहिला यति प्राथमिकता दिइएको थिएन ।

साम्राज्यवादले चीनलाई दुःख दिएको छ र नेपाललाई पनि दिन्छ, सचेत हुनुपर्छ भन्ने आशय प्रष्ट देखिन्थो । ‘चीनलाई टुक्रा बनाउन खोज्नेलाई हाड छाला बनाइन्छ’ भनेर अभिव्यक्ति दिनु त्यही कुराको संकेत हो ।

चीनका राष्ट्रपतिको महत्वपूर्ण सन्देश नै नेपालले आफ्नो क्षमताको अभिवृद्धि गर्नैपर्छ भन्ने देखियो । कुरा मात्रै होइन, काम गरेर देखाउनुपर्छ । जनउत्तरदायी सरकार र पार्टी बनाउनुपर्छ । सुशासन, गरिबी निवारण र विकासले मात्रै स्थिरता र समृद्धि प्राप्त हुन्छ । भन्ने जस्ता कुरा उठाएर नेपालको आफ्नो मौलिक क्षमताको विकास गर्नुस् भन्ने आग्रह देखिन्छ ।

अंग्रेजीमा भनिने ‘डेभिल्स आर इन द डिटेल्स’ अथवा डिटेलमा हेर्न थालेपछि मात्रै चुनौती थाहा हुन्छ भनेजस्तै भ्रमणको वास्तविक सफलता अहिले भएका सम्झौताहरु कसरी कार्यान्वयन हुन्छन् भन्नेमा निर्भर गर्छ ।

गर्छु भन्न सजिलो हुन्छ, तर साँच्चै गर्न कठिन छ । सम्झौता हुनु र कार्यान्वयन गर्ने चरण बीचमा अर्को महत्वपूर्ण चरण हुन्छ । त्यो चरण हो, अध्ययन अनुसन्धान गर्ने र व्यापक तयारीका साथ कार्यान्वयन योजना बनाउने । नेपालमा यो चरणको काम गर्ने चलन राम्रोसँग बसाउन सकिएको छैन । अहिलेको अवस्थामा यो चरणलाई स्थापित गरिएन भने फेरि हाम्रो पराधीनता निरन्तर रहन्छ र अर्काको आसे भएर बस्न बाध्य हुन्छांै ।

बौद्धिक जगतलाई समेटेर तत्कालै नेपालको समृद्धिको अभियानलाई कार्यन्वयन गर्ने खाका बनाउने अध्ययन अनुसन्धानमा लगाउनु आवश्यक छ । त्यसका लागि थिङ्क ट्यांक निर्माण गर्ने, एउटा सरकारी निकायको व्यवस्था गर्ने र प्राज्ञिक व्यक्तित्वहरुलाई व्यापक अध्ययन, बहस र छलफल गर्न लगाउने चलनको सुरुवात गरिहाल्नु पर्छ । नेपालले आफ्नै क्षमता विकास गरेर यस्ता कार्यक्रमहरु कार्यान्वयनमा लानु पर्छ ।

सम्झौता भएका हरेक विषयलाई प्रष्टसँग केलाउन सक्ने, आवश्यक कुरामा अध्ययन गरेर नयाँ व्याख्या गर्न सक्ने र देशको समृद्धिको यात्रामा जोडिने योजना निर्माण गर्न सक्ने क्षमता भएका विज्ञहरुलाई परिचालन गरी अघि बढेमा सजिलै कार्यान्वयन चरणमा जान सकिन्छ । अन्यथा, चाइनिज ठेकदारहरु आएर केही बाटो र पुल त बनाइदेलान् । तर, समग्र समृद्धिको अभियानमा नेपाली तागतको भने विकास हुँदैन ।

चीनले ठूलो भरोसा देखाएको छ । यता नेपाली जनताले ठूलो आशा र विश्वास लिएका छन् । यो अवस्थामा यदि घनिभूत हिसाबले कार्यान्वयनमा नजाने हो भने त्यसले न नेपाललाई, न चीनलाई नै फाइदा गर्छ । परीक्षाको घडी सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment