Comments Add Comment

छालामा देखिने मुसाको समस्याः रोकथाम र उपचार

मुसा भनेको के हो ?

मुसा भनेको ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग हो ।  यसलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस भनिन्छ । एचपीभीको सयौं प्रजातीहरुले विभिन्न प्रकारका मुसाहरु शरीरको विभिन्न ठाउँमा निकाल्छन् । सामान्यतयाः यो हात र खुट्टामा आउने भएपनि कहिलेकाहीँ मुखको भित्री भाग,  आवाज नाली र यौनांगमा आउँछ ।

प्रकार

एचपीभीका विभिन्न प्रकारहरु हुन्छन् । सर्ने विधि र विभिन्न ठाउँमा देखिने मुसाको प्रकृति अनुसार यसको वर्गीकरण गरिएको छ ।

जस्तैः

· सामान्य प्रकारका मुसा: हात तथा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने मुसा । यो हेर्दा नराम्रो देखिन्छ तर सामान्यतया अरु समस्या दिँदैन ।

· पैतालामा र हत्केलामा आउने मुसा: यसको मुख्य लक्षण अत्याधिक दुखाइ हो । दुखाइ विशेषः गरी हिँड्ने बेलामा हुन्छ (यदी खुट्टामा छ भने) र हत्केलामा पनि दुखाइ हुन सक्छ ।

· भेरुका प्लाना : ससाना खैरो रंगको मुसाहरू जो अनुहारमा ज्यादा आउँछन् ।

· यौनांगमा आउने मुसाहरु: यो चाहि यौनांगमा घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएमा हुन्छ । सामान्यतया असुरक्षित सम्पर्क भएको १२ देखि १५ महिनामा यस्ता मुसाहरु आउँछन् । यो मुसा गराउने एचपीभीको प्रजातिले कहिले काँही गुदद्वारको क्यान्सर पनि गराउन सक्छ ।

के मुसाहरु आफैं निको हुन्छन ?

स-साना हात र खुट्टामा आएको मुसा आफैँ निको हुन सक्छ तर, पैतालामा वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु आफैं निको हुँदैन ।

के यो सरुवा रोग हो ?

यो सरुवा रोग हो । मुसा कोट्यै रहने वा मुसा चलाएपछि राम्रोसँग हात नधोई अन्य ठाउँमा छाेएमा यो रोग सर्छ । यस्तै असुरक्षित यौन सम्पर्कको कारणले पनि यो रोग सर्दछ ।  यदी पुरुषको अनुहारमा यो रोग छ भने दाह्री काट्दा पनि यो रोग अर्को ठाउँमा सर्न सक्छ ।

रोकथाम

यसको रोकथाम गर्न नसकिए पनि बच्नको लागि केही सावधानी अपनाउन सकिन्छ । जस्तैः

हात राम्रोसँग धुने 

हात चुसिरहने वा नंग टोक्ने बानी कम गर्ने /नगर्ने

जिमखाना, स्विमिङ्ग पुलमा आफ्नै तौलिया प्रयोग गर्ने

सधै जुत्ता लगाउने

अरु कसैलाई मुसा आएमा नकोट्यौने

उपचार

पहिलो कुरा मुसाको उपचार विशेषज्ञको निगरानीमा मात्र गर्नुहोला ।

छाला रोग विशेषज्ञको सल्लाहमा शरीरमा मुसा देखिने बित्तिकै उपचार गराउनु पर्दछ ।

रोगको अवस्था ठाउँ र संख्या अनुसार बिजुलीले डडाएर फाल्ने वा सालिसाइलिक एसिड नामक औषधिको प्रयोग वा लेजर प्रबिधिबाट मुसाको उपचार गरिन्छ ।

अन्य चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने उपचार बिधिमा एमएमआरको भ्याक्सिन लगाउने तथा भिटामिन डीको इन्जेक्शन लगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment