Comments Add Comment

नागढुंगा सुरुङमार्गको शिलान्यास सोमबार

२९ असोज, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास सोमबार (कार्तिक ४ गते) हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग शिलान्यास गर्नेछन् ।

सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीसँग ठेक्का सम्झौता गरिसकेको छ । शिलान्यासपछि केही तयारी सकाएर सुरुङमार्ग निर्माणको काम थालिने आयोजना प्रमुख श्यामप्रसाद खरेल बताउँछन् । काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

यो आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का लागेको छ । यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ ।

अष्ट्रेलियन टनेलिङ मेथडबाट यो सुरुङमार्ग बन्नेछ । यसअन्तरगत जम्बो ड्रिलिङ मेसिनहरु पनि प्रयोग गरिन्छ । सुरुङमार्ग बनाउन ५ देखि ६ सय मेट्रिक टन विष्फोटक पदार्थ लाग्ने अनुमान छ । नेपालमा आयोजनाहरुका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनामार्फत लिनुपर्छ ।

हाजमा नेपालमा राम्रो रेकर्ड भएको जापानी कम्पनी हो । कोटेश्वर–सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । यसले नै विपी राजमार्गको निर्माण गरेको हो ।

यो सुरुङमार्ग निर्माणका लागि सरकारले यो वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

टेण्डर मूल्यांकन प्रक्रियामा लामो समय अलमल हुँदा सुरुङमार्ग निर्माणको काम थाल्न ढिलाई भएको थियो । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

नौबीसेदेखि थानकोटसम्मको सडकखण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनिकरण गर्ने भन्दै सरकारले यो आयोजना अघि सारेको हो ।

विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबिसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।

यो सुरुङमार्ग दुबैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुन्छन् र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्काेपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाउने योजना छ ।

नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ । यसका लागि अहिले जग्गा अधिग्रहणको काम भइरहेको छ ।

तर, स्थानीयबासीसँग विवाद टुंगिएको छैन । सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment