Comments Add Comment

‘गायब’ सुन खोज्न बाणिज्य विभागले बनायो छानबिन समिति

३० असोज, काठमाडौं । परीक्षणको नाममा संकलन गरिएको सुन नै ‘गायव’ भएको विषय बाहिर आएपछि छानबिन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन समिति बनाएको छ । विभागका कानून उपसचिव भगवान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

कमिटीमा अधिकृत दीपक पोखरेल, निराजकुमार खत्रीसहित गुणस्तर विभागका प्रनिनिधिसमेत रहेको महानिर्देशक गौचनले बताए । गायब गरिएको भनिएको सुनको अवस्थाबारे अध्ययन गर्न समितिलाई जिम्मेवारी तोकिएको छ । एक महिनाको समयावधि पाएको समितिले पूर्ववत सबै फाइलको खोजी गर्ने र आवश्यक कानुनी राय लिएर थप अगाडि बढ्ने महानिर्देशक गौचनले बताए ।

सुन र चाँदीमा मिसावट हुने गरेको विषयमा २०६९ सालदेखि अनुगमन गरेर परीक्षण गर्न भन्दै तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले देशभरका सुन पसलबाट नमूना सुन संकलन गरेको थियो । सुन चाँदी व्यवसायीहरुका अनुसार उक्त सुन एक किलो भन्दा बढी मात्रामा थियो ।

त्यसयता उपत्यकामा मात्रै करिब ४० सहित देशभर एक सय पसलबाट नमुना संकलन भएको सुन चाँदी व्यवसायीको भनाई छ । कानुनतः परिक्षणका लागि लगिएको सुन फिर्ता गरिनु पर्दथ्यो । तर, गरिएको छैन ।

सरकारी अनुगमन टोलीले एउटै पसलबाट डेढदेखि २ तोलासम्म सुनका गहना संकलन गरेको संघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले बताए । सुन उठाइएको समयमा तत्कालीन वाणिज्य तथा आपूर्ति विभागको महानिर्देशकमा नारायणप्रसाद बिडारी, शम्भु कोइराला, गोकुल धिताल, कुमार दाहाल महानिर्देशक थिए । अनुगमन शाखा निर्देशकमा लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment