Comments Add Comment

मोरङमा निर्माणाधिन आइसिपी तिहारपछि सञ्चालनमा आउने

३ कात्तिक, विराटनगर । मोरङको बुधनगरमा निर्माणाधिन एकीकृत जाँच भन्सार बिन्दु (आइसिपी) यही महिनादेखि सञ्चालनमा आउने भएको छ ।

भारतीय पक्षले आइसिपी निर्माणको सम्पूर्ण काम सम्पन्न गरी तिहारपछि नेपाललाई हस्तान्तरण गर्ने तयारी गरेको छ। भारतीय पक्षले यसअघि गएको अगस्ट १५ अर्थात १५ भदौमा नेपालालाई हस्तान्तरण गर्ने बताएको थियो । यधपि विद्युत जडान र पर्खाल निर्माणको सम्पूर्ण काम पूरा नभएपछि आइसिपी हस्तान्तरणको अवधि कात्तिक महिनाको लागि सारिएको थियो ।

बुधनगरमा आइसिपी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने  भनिएपनि लक्ष्य भन्दा १० महिनापछि मात्र आइसिपी निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपाललाई हस्तान्तरण गर्ने तयारी गरेको हो ।

संघीय आयोजना कार्यान्वय इकाई मोरङका इन्जिनियर राजु शर्माले भारतीय निर्माण कम्पनीले आइसिपीको आवश्य सम्पूर्ण संरचना निर्माण पूरा गरेकाले तिहारपछि नेपाललाई हस्तान्तरण गर्ने बताएको जानकारी दिए ।

‘भारतले नेपाललाई आइसिपी हस्तान्तरणको प्रकिया तिहार लगतै गर्ने जानकारी दिएको छ,’ इन्जिनियर शर्माले भने, ‘भारतले हस्तान्तरण गरेलगतै नेपाल सरकारको स्वामित्वमा आएको आइसिपीलाई जतिसक्दो चाँडो सञ्चालन गर्ने तयारीमा छौं ।’ भनेकै समयमा आइसिपी नेपाललाई हस्तान्तरण भएको खण्डमा यही महिनाबाट आइसिपी सञ्चालनमा आउने उनले बताए ।

आइसिपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आइसिपीको निर्माणको काम गरिरहेको छ ।

ठेकेदार कम्पनी दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकमका प्रोजेक्ट मेनेजर अवधेशकुमार साहले आइसिपी संरचना निर्माणसँगै सम्पूर्ण काम पूरा भएको जानकारी दिए ।

उनले आइसिपीको लागि तयार गरिने आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, चाँज पोष्टसहित विद्युत ट्रान्सफरमर राखी विद्युत वितरणको कामपनि सकिएकाले नेपाललाई हस्तन्तरणको काम चाँडै हुने जानकारी दिए ।

‘दुई देशको सहमति अनुसार आइसिपी निर्माणको काम पूरा भएको छ,’ प्रोजेक्ट मेनेजर साहले भने, ‘जतिसक्दो चाँडै नेपाललाई हस्तान्तरण गर्नका लागि आवश्यक प्रकिया सुरु गरिसकेका छौं, प्रकिया पूरा भए लगतै आइसिपी नेपाललाई हस्तान्तरण गरिनेछ ।’ साहले आइसिपी निर्माणसँगै परीक्षणको कामपनि पूरा भएको बताए ।

संयुक्त रूपमा नेपाल/भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको रहेको छ । आइसिपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम पूरा भएको छ । लिङ्करोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर/दक्षिणी राजमार्गसँग जोडिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आइसिपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको थिया ।  सन २०१७ फेब्रुअरी १ देखि नेपाल तर्फको आइसिपी निर्माणको काम सुरु भएको थियो । भारत तर्फको आइसिपी भने दुई बर्ष अघिदेखि सञ्चालनमा छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment