Comments Add Comment

जिग्री-पाँडेको टिम प्रहरीमा, सम्झौताको प्रतिलिपी बुझाए

मिडिया हबले उजुरी हालेपछि हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को निर्माण टिम महानगरीय प्रहरी परिसर टेकु पुगेको छ । प्रहरीसँग आफूहरुको सकारात्मक छलफल भएको अर्जुन घिमिरे पाँडेले बताए ।

तपाईंहरुमाथि यस्तो उजुरी आएको छ भनेर देखाउनुभयो । मिडिया हबले धेरै पुरानो सम्झौता पेश गरेर उजुरी गरेको रहेछ । हामीले पछिल्लो सम्झौताको प्रतिलिपि लगेका थियौं, त्यो बुझाएका छौं,’ घिमिरेले अनलाइनखबरसँग भने ।

घिमिरेको भनाइअनुसार भद्रगोलको एक सय ५२ एपिसोड पछाडि मिडिया हब र जेपीटी औजिग्री पाँडे टिम) क्रियसनबीच नयाँ सम्झौता भएको थियो ।

उनी भन्छन्, ‘त्यतिबेला जिग्री र मलाई हटाएर मिडिया हबले शंकर आचार्यलाई जिम्मेवारी दिएको थियो । तर, दर्शकबाट सकारात्मक प्रतिक्रिया नआएपछि फेरि हामीलाई बोलाइयो । हामीले नयाँ सम्झौता गरेर मात्रै काम गर्ने अडान लियौं । त्यसपछि भएको सम्झौतामा स्पष्ट रुपमा उल्लेख छ कि सिरियलको विषयवस्तु र पात्रहरुको सर्वाधिकार दोस्रो पक्ष (जेपीटी क्रियसन) मा निहित रहनेछ ।’

तर, मिडिया हबले आफूहरुलाई थाहै नदिइकन गुपचुपरुपले ‘भद्रगोल’ को कपिराइट आफ्नो नाममा दर्ता गरेको उनको भनाइ छ ।

‘हामीबीच विवाद भएपछि हामी भद्रगोलको कपिराइट दर्ता गर्ने विषयमा बुझ्न जाँदा उहाँहरुले आफ्नो नाममा पारिसक्नुभएको थाहा भयो । त्यसपछि हामीले ‘सक्किगोनी’ नाममा नयाँ सिरियल निर्माण गर्न थालेका हौं,’ घिमिरेले भने ।

सक्किगोनीमा भद्रगोलकै पात्रहरु लिइएका छन् । ती पात्रहरुमध्ये केही पात्र भद्रगोल आउनुभन्दा अगाडिकै भएको घिमिरे बताउँछन् ।

उनले भने, ‘जिग्री, पाँडे, धतुरे जस्ता केही पात्रहरु हामीले भद्रगोलभन्दा अगाडि सन् २०१२ मा सिस्नुपानी झ्याम्मै नामक सिरियलमा जन्माएको थियौं । त्यसको एउटा एपिसोड यूट्यूवमा भेटियो जुन हामीले प्रहरीलाई देखाएका छौं । बलेको क्यारेक्टरचाहिँ एउटा फिल्मबाट लिइएको हो । कुनै पनि पात्र जन्माउनमा मिडिया हबको हात छैन ।’

मिडिया हब र जेपीटी क्रियसनबीच भएको पछिल्लो सम्झौताको अन्तिम म्याद ०७६ साल असारसम्म थियो । तर, दुईपक्षबीच विभिन्न विषयमा कुरा नमिलेपछि सम्झौता नवीकरण हुन सकेन । त्यसपछि जिग्री पाँडेको टिम भद्रगोलबाट बाहिरियाे भने मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल प्रसारण गरिरहेको छ ।

जिग्री-पाँडे समूहको कुरा सुनेपछि प्रहरीले दुवै पक्षलाई राखेर छलफल गर्ने बताएको छ । यसका लागि फेरि शुक्रबार बोलाइएको घिमिरेले जानकारी दिए । मिडिया हबको उजुरीले तत्काल ‘सक्किगोनी’लाई असर नगर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment