Comments Add Comment

नेकपा प्रदेश २ मा गुटबन्दी रोकिएन, दुई गुटको छुट्टाछुट्टै कार्यक्रम

३ कात्तिक, जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ मा चर्को गुटबन्दी देखिएको छ । गुटबन्दीकै कारण २४ भदौमा बर्दिवासमा आयोजित सप्तरी र सिरहा जिल्लाका पदाधिकारीलाई शपथ कार्यक्रममा कुटाकुट भएको थियो भने यसले केन्द्रीय नेताहरु पनि विवादमा तानिए ।

विवादकै कारण जिल्लाहरुमा छुट्टाछुट्टै शुभकामना कार्यक्रम भइरहेको छ । दशैं, दीपावली र छठ पर्वको अवसर पारेर सप्तरी, धनुषासहितका जिल्लामा नेकपाले कार्यक्रम गरेको छ । तर, छुट्टाछुट्टै रुपमा ।

बर्दिवासमा भएको शपथ ग्रहण समारोहमा पक्ष र विपक्षमा रहने नेताहरु एकअर्काको कार्यक्रममा सहभागी भएका छैनन् ।
जिल्ला इन्जार्च र जिल्ला अध्यक्षसहितका नेता एउटा कार्यक्रममा सहभागी भएका छन् भने जिल्ला सचिवसहितका नेताहरुले अलग्गै कार्यक्रम गरेका छन् ।

प्रदेश सांसद समेत रहेका जिल्ला सचिव गोविन्द न्यौपाने समूहले राजविराजको मदननगरस्थित पार्टी कार्यालय प्राङ्गणमा कार्यक्रम गरेका छन् भने अध्यक्ष जिल्ला इन्चार्ज रामप्रित पासवान र जिल्ला अध्यक्ष अशोक मण्डल महदेवा गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

मदननगरमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा न्यौपानेसहित नेकपा नेता उमेश यादव, प्रदेश कमिटी सदस्य महेश यादव, देवनाथ यादव, असर्फी सदासहतका नेता सहभागी छन् ।

महदेवा गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा सांसद सरिता गिरी जिल्ला इन्चार्ज पासवान, जिल्ला अध्यक्ष मंडल, प्रदेश सदस्य शैलेन्द्र चन्द्र झा, भरत महतो, कृष्ण कुमार गुप्ता लगायतकाले सहभागिता जनाएका छन् ।

शुभकामना आदान प्रदानको कार्यक्रममा मात्र नभई अन्य कार्यक्रमहरुमा पनि यी नेताहरु एकसाथ देखापर्दैनन् ।

धनुषामा पनि छुट्टाछुट्टै

धनुषामा पनि नेकपाका नेताहरुले छुट्टाछुट्टै शुभकामाा आदान प्रदान कार्यक्रम आयोजना गरेका छन् ।

पार्टीका नेता समेत रहेका उद्योग तथा आपूर्तिमन्त्री मातृका यादव समूहले सबैलामा र भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ गुटले शहीदनगर नगरपालिकामा कार्यक्रम गरेको छ । यादव तत्कालिन माओवादीका नेता थिए भने महासेठ एमालेका ।

मन्त्री यादव सहभागी भएको कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सह इन्चार्ज महेन्द्र पासमान, रामचन्द्र झा, रत्नेश्वर लाल गोईत, बोधमाया यादव, सत्रुधन महतोसहितका नेताले सहभागिता जनाए ।

महासेठको कार्यक्रममा केन्द्रिय सदस्य योगनारायण यादव, प्रदेशसभा सदस्य रामचन्द्र मन्डल र नेताहरु हरिनारायण महतो, गंगाराम यादव, कमलदेव यादव, फुलकुमारी महतो, झल्कु यादवलगायत सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment