
४ कात्तिक, सिड्नी । जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
सहयोग संकलन गरी अष्ट्रेलियावासी नेपालीहरुले चार हजार ३१६ अष्ट्रेलियन डलर (३ लाख ३२ हजार ५५३ रुपैयाँ) मंगलबार पठाएका हुन् ।
दुईवटा खातामार्फत संचालन गरिएको अभियानका क्रममा एउटा खातामा तीन हजार ४६१ र अर्काेमा ८५५ अष्ट्रेलियन डलर जम्मा भएको थियो ।
दुबै खातामा जम्मा भएको रकम मंगलबार ग्लोबल आइएइ बैंकमा अमृतको नाममा रहेको खातामा जम्मा गरिदिएको अभियानमा सहभागी धर्मराज अधिकारीले जानकारी दिए ।
बैंकमा जम्मा गरिएको भाैचर हाल नेपालमै रहेका एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य (अस्ट्रेलिया) अशोक केसीले जीवन शर्मालाई हस्तान्तरण गरेका छन् ।
अष्ट्रेलियाका सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबेन लगायतका शहरमा रहेका ८९ जना नेपालीहरुले सहयोग रकम जम्मा गरेका थिए ।
अन्ननलीमा हड्डी अड्किएर इन्फेक्सन भएपछि अमृतको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलन अभियान सुरु गरिएको हो ।
प्रतिक्रिया 4