
विवादित ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ ।
दुर्गेशले हालै ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीत यूट्यूवमा सार्वजनिक गरेका थिए । गीतले चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएको छ । आलोचनात्मक प्रतिक्रियाहरु आएपछि कमेन्ट युट्यूवको कमेन्ट बक्स नै गायब पारिएको थियो ।
गीतले तिहार र देउसीको भावनामा ठेस पुर्याएको भन्दै जिप्रकामा उजुरी परेको हो । प्रशासन कार्यालयले उजुरीकर्ताको नाम खुलाएको छैन ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरसँग भने, ‘जिल्ला प्रशासन कार्यालयबाट हामीलाई पात्र आएको छ । हामीले छलफलका लागि उहाँलाई बोलाएका छौं ।’
यसअघि ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट दुर्गेशले लोकप्रियता कमाएका थिए । त्यसपछि उनले ‘छ माया छपक्कै’ मा गाएको प्रवर्द्धनात्मक पनि विवादमा परेको थियो । पछिल्लो विवादले भने दुर्गेशलाई प्रहरीमै पुर्याउने भएको छ ।
प्रतिक्रिया 4