Comments Add Comment

ललितपुरले जितविहीन आफ्नो यात्रा टुंग्यायो

४ कात्तिक, काठमाडौं । ललितपुर फाल्कोन्सले महिला च्याम्पियन्स लिग क्रिकेटमा जितविहीन रहँदै आफ्नो यात्रालाई टुंग्याएको छ ।

सोमबार भएको आफ्नो अन्तिम तथा चौथो खेलमा पनि ललितपुरले पोखरा पल्टनसँग ६ विकेटको हार ब्यहोर्न पुग्यो । योसँगै ललितपुरले कुनै खेल पनि जित्न सकेन । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।

ललितपुरका लागि ममता चौधरीले अविजित ५२ रन बनाउँदै टिमलाई उकासेकी थिइन् । त्यस्तै, कविता जोशीले ३१ रन बनाएकी थिइन् । बलिङतर्फ पोखरा पल्टनकी कप्तान सीता रानामगरले दुई विकेट लिएकी थिइन् ।

पोखराको खेलमा जित

जारी प्रतियोगितामा बाहिरिसकेको टिम पोखरा पल्टनले आफ्नो अन्तिम खेलमा जित हात पारेको हो । ललितपुरलाई ६ विकेटले पराजित गर्ने क्रममा पोखराकी कविता कुवँरले अविजित ६१ रन बनाइन् । अविजित रहेकी कविताले ४० बलमा १० चौका प्रहार गरेकी थिइन् ।

त्यस्तै, पोखराको जितमा बिन्दु रावलले ४० रनको योगदान दिइन् । बलिङतर्फ ममता चौधरी र कप्तान नेरी थापाले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् ।

योसँगै प्रतियोगिताको लिग चरणको खेल सकिएको छ । लिगको शीर्ष स्थानमा रहँदै चितवन राइनोज भने फाइनलमा प्रवेश गरेको छ । चितवनले खेलेको चार खेलमध्ये चारै खेलमा जित हात पारेको हो ।

त्यस्तै, क्याट क्वीन्स काठमाडौं र विराटनगर टाइटन्सले भने प्रतियोगिताको इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment