
‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका गायक दुर्गेश थापाले प्रहरी कार्यालय धाउनुपर्ने भएको छ । उनको पछिल्लो ‘देउसी गीत’ विरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई डाकेको हो ।
अनलाइनखबरसँगको कुराकर्मीमा थापाले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट आफूलाई बोलावट आएको बताए ।
‘हो, मेरो गीतको विषयमा छलफल गर्न बोलाउनुभएको छ,’ उनले भने । कहिले जानुहुन्छ त भन्ने प्रश्नमा थापाले जवाफ दिए, ‘हेरौं, कहिले हुन्छ ।’
दुर्गेशलाई प्रहरीले डाकेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीले ठिक गर्यो भन्ने प्रतिक्रिया धेरै आएका छन् । यूट्यूवमा पनि गीतमाथि अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए । त्यसलाई सहन नसकेर दुर्गेशले कमेन्ट बक्स नै खाली गरिदिएका छन् ।
गीतमा रहेका केही शब्दहरुलाई लिएर आलोचना भएको हो । गीतको मुल भाव नै ‘वियर पिएर तिहार मनाऔं’ भन्ने खालको छ । ‘खोइ निकाल गाँजा, खानुपर्छ आज’ जस्ता शब्दहरु पनि छन् । गीतको म्युजिक भिडियोमा युवायुवतीहरु वीयर पिएर झुमिरहेको देखाइएको छ ।
कुनै पनि दृष्य सामग्रीमा लागूपदार्थको सेवन गरेको देखाइँदा त्यससँगै सावधानी सन्देश पनि दिनुपर्ने नियम छ । तर, म्युजिक भिडियोमा त्यसको पालना गरिएको छैन ।
तिहारको मर्म नै बिग्रिने गरी गीत बनाएको आरोपका विषयमा दुर्गेशले भने, ‘यस्ता गीत मैले मात्र होइन अरु पनि धेरैले गाएका छन् । ठूलो कुरै होइन यो ।’
गीतलाई यूट्यूवबाट हटाउनु हुन्छ ? भन्ने प्रश्नमा थापाले भने, ‘उहाँहरु (प्रहरी) ले जे भन्नुहुन्छ त्यही गर्छु ।’
दुर्गेशको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय अपराध अनुसन्धान महाशाखामा यस विषयमा पत्राचार गरेपछि प्रहरीले दुर्गेशलाई बोलाएको हो । यसअघि दुर्गेशले चलचित्र ‘छ माया छपक्कै’ का लागि गाएको प्रबद्र्धनात्मक गीत पनि विवादमा परेको थियो । त्यसमा भने उनले कुनै कानुनी झमेला व्यहोर्नु परेको थिएन ।
प्रतिक्रिया 4