Comments Add Comment

भ्रमण वर्षकी चिनियाँ दूत अन्नपूर्ण बेस क्याम्पमा

Photo Credit : सुरेन तिवारी

४ कात्तिक, पोखरा । नेपाल भ्रमण वर्ष २०२० नियुक्त भएकी चिनियाँ अभिनेत्री सु छिङ सोमबार अन्नपूर्ण बेस क्याम्प र मर्दी हिमाल भ्रमण गरेकी छिन् ।

विश्वमै चर्चित अन्नपूर्ण पानोरोमा ट्रेक अन्तर्गत पर्ने अन्नपूर्ण बेस क्याम्पमा पुगेर उनले भनिन्, ‘यो ठाउँबारे मलाई पहिल्यै थाहा थियो । यहाँ मलाई ट्रेकिङ गरेरै आउन मन थियो । तर, यसपाली हामीसँग समय नपुगेर हेलीबाट आउनुपर्‍यो ।’

पोखरा विमानस्थलबाट प्रभुको हेलिकप्टर चढेर बेस क्याम्प पुगेकी सुले करिब डेढ घन्टा बिताएकी थिइन् । उनले त्यहाँ स्थानीयसँग बातचित गरिन् । फोटो तथा भिडियो सुटसमेत गरेकी थिइन् । उनले बेस क्याम्पमा खिचेको फोटो तथा भिडियो आफ्नो व्यक्तिगत ब्लगमा राख्ने प्रतिबद्धता जनाइन् ।

अन्नपूर्ण बेस क्याम्पमा करिब ढेड घन्टा बिताइसकेपछि मर्दी हिमाल पनि पुगिन् । त्यहाँ उनलाई स्थानीय होटल व्यवसायीले स्वागत गरेका थिए । खुलेको मौसममा एकै दिन अन्नपूर्ण बेस क्याम्प र मर्दी हिमालको अवलोकन गरेपछि सोमबार नै काठमाडौं फर्किएकी छिन् । उनको हेली भिजिटका लागि प्रभू र एअर डाइनेस्टीले हेलिकप्टर उपलब्ध गराएका थिए ।

अभिनेत्री छिङलाई शनिबारमात्रै पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरेका हुन् । शनिबार साँझै उनको ७ सदस्यीय टोली २ दिने पोखरा भ्रमणमा निस्किएको हो । आइतबार उनले पोखरा फेवातालमा डुंगामा सयर गरिन्, प्याराग्लाइडिङबाट पोखरा नियालिन् । फेवातालबीचमा रहेका तालबाराही भ्रमणका क्रममा उनलाई अन्य चिनियाँ पर्यटकले चिनेर पछ्याएका थिए, जसका कारण उनलाई हतारमा होटल फर्किनु परेको थियो ।

आइतबार नै छिङले प्याराग्लाइडिङ गरेकी थिइन् । प्रतिकुल मौसमका कारण बिहान गर्ने भनिएको उनको उडान करिब ३ घण्टा ढिलोमात्रै सम्भव भएको थियो ।

पोखरा भ्रमणपछि पुनः काठमाडौं फर्किएको सुको टोली मंगलबार स्वदेश फर्किने छ । उनको टोली जनवरीमा फेरि नेपाल आउने नर्थ नेपाल ट्राभलका मोहनराज भण्डारीले जानकारी दिए ।

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री छिङ चिनियाँ सामाजिक सञ्जाल वैबोमा चर्चित मानिन्छिन् । उनलाई २०१५ मा रिलिज भएको ‘मिस्टर सिक्स’ नामक फिल्मबाट बढी स्मरण गरिन्छ । उनले सो फिल्मबाट आधा दर्जनभन्दा बढी उत्कृष्ट अभिनेत्रीको एवार्डसमेत जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment