Comments Add Comment

ओमनमा श्रमिकका लागि ‘परदेशमा घरदेश’

काठमाडौं । ओमनको मस्कटस्थित नेपाली दूतावासले सचेतना तथा सांगीतिक कार्यक्रम गरेको छ ।

ओमनमा काम गर्ने नेपाली कामदारहरुका लागि दूतावासले कात्तिक १ गते लुलु कम्पनीमा ‘परदेशमा घरदेश’ कार्यक्रम गरेको हो ।

विदेशी भूमिका रहेका श्रमिकहरुमा सकरात्मक सोचको विकास गरी मानसिक तथा सामाजिकरुपमा एक्लो महसुस हुन नदिन कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ ।

परदेशमा एक्लो महसुस हुँदा श्रमिकहरुहरु कुलतमा फस्नुका साथै आत्महत्या गर्ने सम्मको निर्णयमा पुग्ने भएकोले त्यसबाट बच्न कार्यक्रमले सहयोग पुगेको दूतावासको विश्वास छ ।

नेपालको इलम इभेन्टसँगको सहकार्यमा भएको कार्यक्रममा सहभागीहरुलाई दूतावासका द्धितीय सचिव सोमेश थापाले स्वागत तथा दशैं, तिहार र छठ पर्वका साथै नेपाल सम्वत् ११४० को शुभकामना दिदै राजदूतावास सबैको लागि अभिभावककोरूपमा रहेको स्मरण गराएका थिए ।

कार्यक्रममा दूतावासकी श्रम सहचारी कृष्णाकुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी जानकारी गराएकी थिइन् ।

सकारात्मक सोच अभियन्ता बिष्णु दाहालले श्रमिकहरूलाई परदेशमा रहेर पनि आफूलाई कसरी बिरानो महसुस हुन नदिने तथा अन्य मनोवैज्ञानिक समस्या तथा निवारणका उपाय सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा गायकद्वय सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध साँगीतिक प्रस्तुतिमार्फत करिब एक घन्टा उपस्थित श्रमिकहरूलाई मनोरञ्जन प्रदान गरे ।

कार्यक्रममा लुलुका प्रतिनिधि, नेपाली दूतावासका कर्मचारीहरू, इमल इभेन्ट्सका पदाधिकारीगायत २०० बढीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment