Comments Add Comment

बागलुङमा कांग्रेसलाई अवसर, जनमोर्चा र नेकपालाई चुनौति

५ कात्तिक, कास्की । बागलुङमा २०७० सालको निर्वाचन नेपाली कांग्रेसका निम्ति ऐतिहासिक थियो । उसले ३ वटै निर्वाचन क्षेत्रमा पकड जमाएको थियो । तर २०७४ सालको निर्वाचनमा कांग्रेसले सबै क्षेत्र गुमाउन पुग्यो ।

प्रदेशसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नम्बर २ को ‘ख’मा आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचन कांग्रेसका लागि अवसर हुनसक्ने नेताहरु बताउँछन् ।

२०७४ सालको निर्वाचनमा तत्कालीन माओवादी, एमाले र राष्ट्रिय जनमोर्चाको त्रिपक्षीय गठबन्धन थियो र जनमोर्चाका टेकबहादुर घर्तीले चुनाव जितेका थिए । सांसद घर्तीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

त्यसबेला घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका जीत शेरचनले ८ हजार ६ सय २४ मत पाएका थिए ।

त्यसबेला गठबन्धन गरेका ३ पार्टीमध्ये एमाले र माओवादी एकीकरण गरेर नेकपा बनिसकेको छ । तर नेकपा र जनमोर्चाको अब फेरि गठबन्धन बन्छ कि बन्दैन भन्नेले उपनिर्वाचनको परिणाम निर्धारण गर्ने छ । जनमोर्चा र नेकपाको गठबन्धन तोडियो भने त्यसको फाइदा उठाउने रणनीतिमा कांग्रेस छ ।

गठबन्धन नहुँदा यो क्षेत्रमा कांग्रेसलाई रोक्न जनमोर्चा र नेकपा दुवैलाई चुनौतिपूर्ण हुनेछ । यो क्षेत्रमा अहिले ३६ हजार ९ सय २६ मतदाता पुगेका छन् ।

३ वटै वडा हात पार्ने दाउमा नेकपा

मंसिर १४ गते हुने उपनिर्वाचनमा गण्डकी प्रदेशका ३ वटा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । तीमध्ये १ जना जनप्रतिनिधिको मृत्यु भएको थियो भने २ जना जिल्ला समन्वय समितिमा गएका थिए । बाग्लुङ बडिगाड गाउँपालिका वडा नम्बर २ मा तत्कालीन एमालेबाट विष्णुप्रसाद धितालले जितेका थिए । उनी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो ।

धितालले ६ सय ५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६ सय २३ मत ल्याएका थिए । अहिले कांग्रेसबाट होशियारसिंह थापा, गनबहादुर थापा श्रीस र गोकुल गिरी लगायत उम्मेदवार बन्ने चर्चा छ भने नेकपाबाट ढालप्रसाद शेरचन, होमनाथ अर्याल, विष्णु अर्याल लगायतको पनि चर्चा छ ।

अर्को उपनिर्वाचन हुने वडा लमजुङ सुन्दरबजार नगरपालिका वडा नम्बर २ हो । वडाध्यक्ष लोकराज पाण्डे नै जिल्ला समन्वय समिति संयोजक बनेपछि वडाध्यक्ष पद रिक्त थियो । यो वडामा सबै सिट तत्कालीन एमालेले जितेको थियो ।

यो पटक माओवादीसँग एकीकरण भएपछि झन् जीत सुनिश्चित रहेको नेकपाको ठम्याइ छ । यहाँ नेकपाबाटै ५/७ जना आकांक्षी छन् । कांग्रेसबाट पनि ३ जनाको आकांक्षा छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व -नवलपुर) को बौदीकाली गाउँपालिका वडा नम्बर ५ मा पनि उपनिर्वाचन हुँदैछ । यहाँका वडाध्यक्ष दलबहादुर खरुको निर्वाचित भएको केही महिनामै मृत्यु भएको थियो । केही महिना अघिमात्र कार्यवाहक अध्यक्ष सम्हालेका पुलसिंह रानाको पनि निधन भयो ।

यो वडामा सबै सिट तत्कालीन एमालेले जितेको थियो । पार्टी एकीकरणपछि जीत झनै सुनिश्चित रहेको नेकपा वडा कमिटीको दाबी छ । तर, कांग्रेस पनि मुख्य प्रतिस्पर्धी छ । गएको चुनावमा कांग्रेस जम्मा ५७ मतले पराजित भएको थियो ।

यो पनि पढ्नुहोस कास्कीमा आकांक्षीको होड, पर्खिंदै केन्द्रको निचोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment