Comments Add Comment

काठमाडौं फाइनलमा, उपाधिका लागि चितवनसँग खेल्ने

काठमाडौं । बिराटनगर टाइटन्समाथि ९ विकेटको शानदार जित हात पार्दै क्वाट विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल)को फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिराटनगरले लिएको ६९ रनको झिनो लक्ष्य काठमाडौंले मात्र ९.५ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

काठमाडौंको पहिलो विकेट भने सुरुमै गुमेको थियो । ओपनर रोमा थापा पहिलो बलमै आउट भइन् । तर कप्तानी रुविना क्षेत्री र अप्सरी बेगमले ७० रनको साझेदारी गर्दै टिमलाई जिताए । क्षेत्री ३४ र बेगम २७ रनमा अविजित रहिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले १७.३ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो । उसको सुरुवात भने राम्रो थियो ।

ओपनर ज्योती पाण्डे र सानु खड्काले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । तर यो साझेदारी टुटेसँगै बिराटनगरको पतन सुरु भयो ।

थप २४ रन जोड्दा अलआउट भयो । काठमाडौंकी कप्तान क्षेत्रीले घातक बलिङ गरिन् । ४ विकेट लिएकी उनले ४ ओभरमा एक मेडन राख्दै मात्र ४ रन खर्चिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment