+
+
Shares

कास्की–२ मा कांग्रेसको उम्मेदवार छान्न सकस, १६ जनाको नाम सिफारिस

अमृत सुवेदी अमृत सुवेदी
२०७६ कात्तिक ५ गते २१:५४

५ कात्तिक, पोखरा । उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार चयन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र किचलो सुरु भएको छ । कांग्रेसको क्षेत्रीय समिति र जिल्ला समितिले उम्मेदवारको नाममा सहमति जुटाउन नसकेपछि १६ जनाको नाम केन्द्रीय समितिसमक्ष पठाइएको छ ।

गत असोज ७ गते कांग्रेस केन्द्रीय कार्यालयले कास्की कार्यसमितिलाई पत्राचार गर्दै १० दिनभित्र बढीमा ३ जनाको नाम सिफारिस गर्न भनेको थियो । तर, मंगलबार जिल्ला समितिले १६ जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेसको क्षेत्रीय कार्यसमितिले १० हजार रुपैयाँ शुल्क लिएर आकांक्षीको नाम लिएको थियो । तर आकांक्षीहरुको दबाबका कारण क्षेत्रीय समितिले जिल्ला समितिलाई र जिल्ला समितिले केन्द्रीय समितिलाई १६ जनाकै नाम सिफारिस गर्ने निर्णय गर्‍यो ।

‘३ जनाको नाम सिफारिस गर्न सर्वसम्मत नभएकाले सबैको नाम पार्टीको केन्द्रीय समितिको जिम्मा लगाएका छौं,’ कास्की कांग्रेस सभापति कृष्ण केसीले भने, ‘क्षेत्रीय कार्यसमितिबाट दुईखाले निवेदनसहितको सिफारिस आएको थियो ।’

क्षेत्रीय कार्यसमितिमा १० हजार रुपैयाँ तिरेर उम्मेदवारीको आकांक्षा देखाउने १६ जना पुगेका थिए । तर, क्षेत्रीय सभापति माधव बास्तोलालगायत बाहेक कार्यसमितिका २१ जनाले यसअघिका प्रतिस्पर्धीसमेत रहेका चालिसेलाई सिफारिस गर्न निवेदन दिए । अन्य आकांक्षीले सबै जनाको नाम सिफारिस गर्न अर्को निवेदन दिएपछि क्षेत्रीय सभापति बास्तोलाले दुबैको पत्रसहित जिल्ला कार्यसमितिको जिम्मा लगाएका हुन् ।

यसअघि निर्वाचनमा पराजित भएका देवराज चालिलेलाई एकल सिफारिस गर्ने निर्णय गरेका क्षेत्रीय समितिका सदस्य भने यसप्रति असन्तुष्ट छन् । क्षेत्रीय सहसभापति विजयराज आचार्य भन्छन्, ‘यो विधानविपरीत हो । सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिलाई छ र बहुमत सदस्यले देवराज चाखिसेलाई एकल उम्मेदवार बनाउने निर्णयमा थिए ।’

क्षेत्रीय सभापति माधव बास्तोला भने दुबै खाले निवेदन आएकोले चालिसेकोमात्र सिफारिस नभएको बताउँछन् । ‘चालिसेलाई एकल उम्मेदवार बनाउने बहुमत सदस्यको माग थियो । तर, बाँकी अरुको आकांक्षी सबैको नाम सिफारिस गर्नुपर्ने माग थियो,’ बास्तोलाले भने, ‘चालिसेलाई एकल उम्मेदवार बनाउने निर्णय भएको थिएन । त्यसैले सबैको नाम सिफारिस गर्ने र केन्द्रले जसलाई टिकट दिन्छ । एक निर्वाचनमा जुट्ने सबैको रायअनुसार सिफारिस भएको हो ।’

अब कसलाई उम्मेदवार बनाउने भन्ने जिम्मा पार्टीको केन्द्रीय समितिको हातमा पुगेको जिल्ला सभापति केसी बताउँछन् ।

केन्द्रमा सिफारिस हुनेमा देवराजदेखि पाका नेता खेमराज पौडेलसम्म छन् । पहिलो संविधान सभाको निर्वाचनमा रवीन्द्र अधिकारीसँगै पराजित भएका सोभियतबहादुर अधिकारी, पूर्व राज्यमन्त्रीसमेत भइसकेका महादेव गुरुङ, क्षेत्र नम्बर २ का सभापति माधव बास्तोला ‘मधु’ को नाम केन्द्रमा सिफारिस भएको छ ।

यीसँगै महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषी, केदारप्रसाद तिवारी, विमला भण्डारी, लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य अब केन्द्रको निर्णयकै पर्खाइमा छन् । नेपाली कांग्रेसले उपनिर्वाचनको निर्णय गर्नकै लागि ७ गते बैठक डाकेको छ ।

कास्की कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेसमा आकांक्षी नै धेरै हुन्छन् । तर, टिकट एउटाले पाउँछन् । बाँकी प्रतिशोधसहित प्रतिघातमा उत्रन्छन् । यसपटक चेत्नुपर्ने हो । जसले टिकट पाए पनि एक भएर लाग्नुपर्ने बेला हो यो ।’

नेकपाभित्र पनि अन्योल

त्यसो नेपाल कम्युनिस्ट पार्टीमा पनि उम्मेदवारको टुंगो लागिसकेको छैन । नेकपाभित्र पनि कसले उम्मेदवार पाउँछ भन्ने अड्कलबाजीमात्रै चलिरहेको छन् । नेकपामा सबैभन्दा बलियो र सम्भावित उम्मेदवारको रुपमा लिइएको नाम, विद्या भट्टराईकै हो । उनीसँगै पूर्व सांसद तथा नेकपा नेता सोमनाथ प्यासी कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहन्छन् ।

रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्य, नेकपा कास्कीका सहइन्जार्च श्रीनाथ बराल, पूर्व सांसद तुलबहादुृर गुरुङ, भीम कार्की लगायतले नेकपाबाट आकांक्षा देखाइरहेका छन् । नेकपा जिल्ला इन्जार्च राजकाजी गुरुङ ‘करण’ को पनि नाम चर्चामा छ ।

यो क्षेत्रमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र समाजवादी पार्टी पनि चुनावी मैदानमा हुने छ । साझा पार्टीले बुधबार उम्मेदवार सार्वजनिक गर्दैछ ।

नेकपा कास्कीले ८ गतेभित्र ३ जनाको नाम केन्द्रमा सिफारिस गर्ने कास्की अध्यक्ष कृष्ण थापाले बताए । कास्की क्षेत्र नम्बर २ देशकै एकमात्र प्रतिनिधि सभाको निर्वाचन हुने क्षेत्र हो । त्यसैले पनि यो सबैभन्दा बढी चर्चा र धेरैको चासोको क्षेत्र बनेको छ ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । यसको अधिकांश वडामा नेकपाले नै जितेको थियो । वडा नम्बर वडा नम्बर ४, ९, ११ मा भने कांग्रेसले जितेको छ । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ मतदाता थिए । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?