Comments Add Comment

घरको वातावरणले कस्तो प्रभाव पार्छ बालबालिकालाई ?

बालबालिकाहरुको विकासमा परिवारको महत्वपूर्ण भूमिका हुन्छ । बालबालिकाहरु जस्तो वातावरणमा रहन्छन्, त्यस्तै प्रकारको व्यवहार सिक्छन् । तर, धेरै पटक के पाइएको छ भने जानी-नजानी अभिभावकहरुले गर्ने गल्तीहरुको नकारात्मक प्रभाव बालबालिकाहरुको मनमा परिरहेको हुन्छ । जसमा सबैभन्दा प्रमुख भूमिका बुबा-आमाको आपसी तालमेल नहुन तथा उनीहरुले बोल्ने भाषाको स्तरमा कुनै सन्तुलन नहुनुले पनि घरको वातावरण तनावग्रस्त रहने पाइएको छ । बालबालिकाहरुका लागि घरको वातावरण कस्तो हुनुपर्छ ?

के-के गर्छन् अभिभावक ?

अधिकांश अभिभावकहरु एक-अर्कालाई सम्मान गर्दैनन् । छोरा-छोरीहरुकै अगाडि झै-झगडाहरु गरिरहन्छन् । झगडा गर्ने क्रममा भाषाको स्तर निकै नै नराम्रो हुन्छ र कहिलेकाहीँ त एक-अर्कालाई अपशब्द पनि बोलिदिन्छन् ।

अधिकांश अभिभावकहरु एक-अर्काको परिवारहरु तथा आमा-बुबालाई लिएर गलत प्रतिक्रिया दिइरहेका हुन्छन् । कहिलेकाहीँ त छुट्टएिर बस्नेदेखि लिएर सम्बन्धबिच्छेद गर्ने कुराहरु समेत अभिभावकहरुले छोरा-छोरीहरुकै अगाडि गरिरहेका हुन्छन् । जुन अत्यन्त गलत अभ्यास हो ।

कस्तो पर्छ बालबालिकामा प्रभाव ?

बालबालिकाहरुमा त्यस्तो परिस्थितिले रिसाउने भावना बढ्न थाल्छ । त्यसपछि बालबालिकाहरु आक्रामक व्यवहार गर्न थाल्छन् । साधारण कुरा पनि ठूल्ठूलो स्वरमा कराएर भन्न थाल्छन् । ठूल्ठूलो स्वरमा कुरा गर्छन् । कति पटक त बालबालिकाहरुले रिसको झोकमा बुबा-आमामाथि नै हात उठाउन थाल्छन् ।

प्रारम्भमा बालबालिकाहरु अभिभाबकको झगडामा कसैको पनि पक्ष लिँदैनन् । तर जब उनीहरु ठूलो हुँदै जान्छन् र कुरा बुझ्दै जान्छन्, उनीहरु कुनै एकको पक्ष लिएर त्यही झगडामा सहभागी हुन थाल्छन् । बालबालिकाहरुको पढाइप्रति रुचि कम हुन थाल्छ ।

परीक्षामा कम नम्बर आउन थाल्छ । कतिपय अवस्थामा त के पनि देखिन्छ भने अभिभावकहरुको दिनहुँको झगडाले बालबालिकाहरु स्कूल नै नजाने अडान लिन थाल्छन् । बिस्तारै स्कूल जान छाड्छन् र घरमै बसेर दिनभरी मोबाइलमा गेम खेल्न थाल्छन् । केही बालबालिकाहरु त डिप्रेसनमा समेत जान्छन् । नयाँ व्यक्तिहरुसँग भेट्दा उनीहरु असहज महसुस गर्न थाल्छन् । स-साना कुराहरुमा निकै चाँडो दुःखी हुन थाल्छन् ।

के गर्नुपर्छ ?

अभिभावकहरुले आपसी मतभेदका कुराहरु गर्ने क्रममा बालबालिकाहरु घरमा भए-नभएको विचार गर्नुपर्छ । सकेसम्म बालबालिकाहरुले नसुन्ने गरी आपसी मतभेदका कुराहरु गर्नुपर्छ । छोरा-छोरीहरुलाई आफ्ना कुराहरु सुनाएर उनीहरुको सहानुभूति लिने प्रयास गर्नु हुँदैन ।

अभिभावकले सधैंले एक-अर्कालाई सम्मान गर्नुपर्छ र बालबालिकाहरुलाई समेत सम्मान गर्न सिकाउनुपर्छ । तर, बालबालिकाहरुमा माथि उल्लेखित कुनै पनि व्यवहार देखियो भने अभिभावकहरु तुरुन्त सजक हुनुपर्छ । लगत्तै अभिभावकहरुले आफैंमा नियन्त्रण गर्नु । यदि यसो गर्दा पनि उनीहरुमा कुनै परिवर्तन आएन भने कुनै राम्रो काउन्सिलरसँग भेटेर पारिवारिक पराशर्म गराउनु उचित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment