+
+
Shares

सार्वजनिक जग्गा खाली नभएपछि स्थानीय जागे

उपमेयर भन्छिन्– तिहारसम्म पर्खनुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १५:१६

६ कात्तिक, काठमाडौं । भूमाफियाले व्यक्तिगत सम्पत्तिसरह प्रयोग गर्दै आएको सार्वजनिक जग्गा खाली नभएपछि स्थानीयवासीले विरोध प्रर्दशन गरेका छन् ।

खुलामञ्च र रत्नपार्कको बीचमा रहेको दुईमाजु गुठी मन्दिरको एक रोपनी भन्दा बढी जग्गा गैरकानूनी रुपमा भाडामा लगाएको प्रमाणित भए पनि सरोकारवालाले जग्गा खाली गराएको छैन ।

त्यसको विरोधमा स्थानीयवासीले ‘दुईमाजु गुठी दोहन गर्न बन्द गर, तत्काल व्यापारिक सम्झौता रद्द गर’ भन्दै बुधबार विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २८ का एक नागरिक सुशन वैद्यले गुठी संस्थानसँग जग्गा भाडामा लिएकी अमृता भट्टराईले नै सम्झौता खारेज गर्न माग राखेर निवेदन दिइसक्दा पनि मन्दिर परिसर खाली नभएपछि प्रदर्शन गर्नुपरेको बताए ।

भूमाफियाले गुठीको जग्गा १५ हजार भाडामा लिएर ३२ वटा पसलेबाट मासिक १५–२० हजार रुपैयाँ असुल्दै आएका छन् । गुठीसँगको सम्झौता अनुसार तेस्रो पक्षलाई भाडा दिन पाइदैन । गुठी संस्थान, काठमाडौं महानगरपालिका र २८ नम्बर वडा कार्यालयसंग भूमाफियाको मिलोमतो देखिएको भन्दै वडाबासी ‘सम्पदा बचाऊ अभियान’ नै चलाएर आन्दोलित भएका छन् ।

दुईमाजु मन्दिर परिसरमा धर्नामा बसेका अभियन्ता गणपतिलाल श्रेष्ठ सार्वजनिक जग्गा खाली नगरेसम्म आन्दोलन जारी रहने बताउँछन् ।

तिहारसम्म पर्खनुस् : उपमेयर

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भूमाफियाको कब्जामा परेको स्थान जसरी पनि खाली गराउने प्रतिबद्धता जनाएकी छन् । गैरकानूनी रुपमा सञ्चालन भइरहेका पसलहरूको अनुगमन गर्दा र सबै कागजपत्र हेर्दा दुईमाजु मन्दिरको जग्गामा व्यावसाय सञ्चालन गर्न नमिल्ने देखिएको उनले बताइन् ।

महानगरपालिकाको अनुगमन समितिको अध्यक्षसमेत रहेकी खड्गीले गुठी संस्थानले मन्दिरको जग्गा व्यक्तिलाई प्रयोग गर्न दिनु कानून सम्मत् नभएको बताइन् । ‘मन्दिरको जग्गा खाली गर्नुको विकल्प छैन’ खड्गी भन्छिन् ‘चाडवाडको समय भएकाले हामी जग्गा खाली गर्न मानवताको नाताले पनि तिहारसम्म पर्खन्छौं ।’

संरचना बनाउँदा के हेरेर बस्नु भयो ?

गुठी संस्थानले गोर्खाकी अमृता भट्टराईलाई सम्झौता गरेर जग्गा प्रयोग गर्न दिएको देखिन्छ । पसल सञ्चालकहरूले भने आफूहरूले मरिण ठाकुर इन्टरनेसनलका उर्मिला कडरिया र अमिर गर्तौलालाई बकाइदा मासिक भाडा तिरेर जग्गा लिएको बताउँछन् ।

अनुगमनका लागि पुगेको उपमेयर खड्गी नेतृत्वको टोलीलाई व्यापारीहरूले पसल खाली गर्ने भए पहिला अन्य ठाउँको जग्गा खाली गर्न भने । ‘हामीले यहाँ टहरा बनाउँदा तपाईंहरू के हेरेर बस्नुभएको थियो ?’, उनीहरुले भने, ‘अहिले आएर हटाउन पाइदैन, हटाउने नै भए पहिले अरु ठाउँको सार्वजनिक जग्गा खाली गरेर आउनुस् ।’

दुईमाजु मन्दिर परिसरमा पसलहरु चलाउँदा सम्पदा विनाश होइन, संरक्षण भइरहेको व्यापारीहरूको भनाइ छ ।

सम्झौता खारेजीका लागि पत्राचार

दुईमाजु गुठी मन्दिरको जग्गा भाडामा लगाउन अमृता भट्टराईसँग सम्झौता गरेको गुठी संस्थान काठमाडौं शाखाले सम्झौता खारेजी प्रक्रिया अघि बढाएको छ । काठमाडौं शाखाका प्रमुख शैलेन्द्र पौडेलले बुधबार नै संस्थानको प्रधान कार्यालयमा पत्राचार गरेका हुन ।

अनलाइनखबरलाई प्राप्त पत्रमा भनिएको छ, ‘…सम्झौता खारेज गरिदिन अनुरोध गर्दै अमृता भट्टराईको यस कार्यालयमा निवेदन दर्ता हुन आएकोले उत्त सम्झौता खारेज गर्ने सम्बन्धमा आवश्यक कायार्थ निवेदन सहितको सक्कल फायल थान एक यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध छ ।’

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?