Comments Add Comment

घरका पुराना फर्निचरलाई कसरी नयाँपन दिने ?

सामान्य अवस्थाभन्दा चार्डपर्वको समयमा हामी घरको विशेष सरसफाई गर्छौं । भर्खरै हामीले महान् चार्ड दशैंलाई बिदाई गरेका छौं । यतिबेला भने हामी दोस्रो ठूलो चार्ड तिहारको तयारी गर्न थालिसकेका छौं । हुन त दशैंमा तपाईंंले आफ्नो घरलाई विभिन्न प्रकारले सुन्दर बनाउनु भयो होला । तर, यदि दशैंमा कुनै कारणले आफ्नो घरलाई सुन्दर बनाउन सक्नुभएन भने तिहारमा पनि तपाईंंले आफ्नो घरलाई सुन्दर र आकर्षक बनाउन सक्नुहुन्छ ।

चार्डपर्वमा घरको सरसफाई आवश्यक हुन्छ । जसमा भान्सा, कोठा तथा अन्य धेरै कुराको सफाई गर्नुपर्ने हुन्छ । जसमा फर्निचरको कुरा गर्नुपर्दा यो घरको सफाईको लागि सबैभन्दा महत्वपूर्ण काम हो । फर्निचर सफा भयो भने घर नयाँ जस्तो देखिन्छ । त्यसैले आज हामी नजिकिँदै गरेको तिहारमा घरको फर्निचरको सफाई कसरी गर्ने र घरलाई कसरी नयाँ देखाउने भन्ने बारेमा केही जानकारी दिँदैछौं ।

लेदरको फर्निचर

लेदरको फर्निचर हेर्दा जति राम्रो हुन्छ, त्यसको सफाई र हेरचाह त्यति नै कठिन हुन्छ । लेदरका फर्निचरको उचित हेरचाह नगर्नाले ठाउँ-ठाउँबाट फुट्न थाल्छ । लेदरको फर्निचरमा कुनै प्रकारको तरल पदार्थ पोखियो भने त्यसलाई तुरुन्त सफा गर्नुपर्छ । किनभने लेदरमा तरल पदार्थको दाग छिटो बस्छ । पानीको दुई थोपाले मात्र पनि लेदरमा सेतो दाग बस्छ । लेदरको फर्निचरलाई कुनै प्रकारको तेलको सम्पर्कमा आउन दिनुहुँदैन । तेलले लेदरको चम्किलोपनालाई हटाउँछ नै । साथै, लेदर फुट्ने जस्ता समस्याहरु पनि उत्पन्न हुन्छ ।

लेदरको फर्निचरलाई सधैं सफा कपडाले पुछ्नुपर्छ । यसलाई सूर्यको किरण र एयर कन्डिसनरबाट टाढा राख्नुपर्छ । यसो गर्दा फर्निचर च्यातिन र खुम्चिन पाउँदैन । लेदरको फर्निचरलाई कहिल्यै पनि बेबी वाइप्सले सफा गर्नु हुँदैन, त्यसले लेदरको सबै चम्किलोपना हटाइदिन्छ ।

काठको फर्निचर

काठको फर्निचरको सरसफाईमा प्रायः मानिस लापरबाही गर्छन् । जसका कारण काठको फर्निचर बिग्रन थाल्छ । काठको फर्निचर सफागर्दा ध्यान दिएर सफा गर्‍यो भने यसमा नयाँ चमक आउँछ । महिनामा एक पटक कागतीको रसले काठको फर्निचर सफा गरेमा त्यसमा नयाँ चमक आउँछ । पुरानो फर्निचरलाई मिनरल आयलले पेन्ट गरेर पनि नयाँ बनाउन सकिन्छ । त्यस्तै, पानीमा भाँडा माझ्ने साबुन मिसाएर पनि काठको फर्निचरलाई सफा गर्न सकिन्छ ।

प्रायः महिलाहरुको फर्निचरमा व्याक्स जमेको हुन्छ, जसलाई सफा गर्नाको लागि सबैभन्दा राम्रो उपाय भनेको स्टिलको स्क्रबरले रगड्ने र नरम कपडाले पुछ्नुपर्छ । कहिलेकाहीँ बालबालिकाहरुले फर्निचरमा विभिन्न रंग दलिदिन्छन् । ती रंगहरुको व्याक्स त स्टीलको स्क्रबरले रगडेर हट्छ । तर, रंग भने रहिरहन्छ । त्यस्तो स्थितिमा बजारमा उपलब्ध ड्राई लोन्डरी स्टार्चलाई पानीमा मिसाएर पेन्टब्रशले दाग लागेको ठाउँमा लगाउने र सुकेपछि चिसो कपडाले पुछ्नुपर्छ ।

माइक्रोफाइबर फर्निचर

माइक्रोफाइबर फर्निचर सफा गर्नुभन्दा पहिला लागि त्यस्ता फर्निचर कसरी सफा गर्ने भन्ने जानकारी दिएको ट्यागलाई पढ्नुपर्छ । कुनै ट्यागमा डब्लु लेखिएको हुन्छ । डब्लु लेख्नुको अर्थ यो फर्निचरलाई पानीले सफा गर्न सकिन्छ । त्यस्तै, यदि डब्लु लेखिएको छैन भने त्यस्ता फर्निचरलाई पानीले सफा गर्दा पानीको दाग बस्न सक्छ ।

माइक्रोफाइबरलाई सफा गर्दा एकदम नरम ब्रसले फर्निचरको धुलो झार्नुपर्छ । धुलो झारेपछि चिसो पानीमा साबुनलाई घोलेर तौलियाले फर्निचर सफा गर्नुपर्छ । यसरी सफा गर्दा तौलिया राम्रोसँग निचोरिनुपर्छ । नत्र फर्निचर पानीका कारण धेरै भिज्छ । तौलियाले सफा गरेपछि तुरुन्त हेयरड्रायरले सुकाउनुपर्छ । हेयरड्रायरले सुकाएपछि ब्रसले हल्का सफा गर्नुपर्छ । जसले फर्निचर पहिले जस्तै देखिन्छ ।

बैंकिङ सोडामा पानी मिसाएर गाढा घोल बनाउने र यो घोललाई दाग लागेको ठाउँमा लगाएर केही बेर त्यसै छाडिदिनु पर्छ । केही समयपछि त्यसलाई हल्का पुछ्नुपर्छ । फर्निचरमा लागेको दागलाई पानीलेभन्दा पनि बेबी वाइप्सले सफा गर्नु उपयुक्त हुन्छ । फर्निचर सफा गर्दा दाग लागेको ठाउँमा धेरै रगड्नु हुँदैन ।

यदि फर्निचरमा ग्रीस जस्तो जिद्दी दाग लागेको छ भने त्यसलाई हटाउनको लागि भाँडा माझ्ने साबुन र पानीको घोल बनाएर दाग लागेका ठाउँमा स्प्रे गर्नुपर्छ । केही समयपछि चिसो कपडाले दाग लागेको ठाउँ पुछ्नुपर्छ ।

प्लास्टिकको फर्निचर

प्रायः प्लास्टिकको फर्निचर फोहोर भयो भने यसलाई सफा गर्नुभन्दा स्टोरमा ठन्काउने गरिन्छ । तर, प्लास्टिकको फर्निचरलाई सही तरिकाले सफा गरेर यसलाई चम्किलो बनाउन सकिन्छ । ब्लिच र पानी समान रुपमा मिलाएर एउटा सिसीमा भर्ने र फर्निचरमा लागेको दागमा स्प्रे गर्ने । स्प्रे गरेपछि फर्निचरलाई ५ देखि १० मिनेटसम्म घाममा राख्नुपर्छ ।

ट्युब र टाइल क्लीनरले पनि प्लास्टिकको फर्निचर चम्किलो बनाउन सकिन्छ । यसको लागि दाग लागेको ठाउँमा स्प्रे गरेर ५ मिनेटपछि पानीले धुनुपर्छ, दाग सफा हुन्छ ।

भाँडा माझ्ने साबुनले पनि प्लास्टिकको फर्निचरमा लागेको दाग हटाउन सकिन्छ । यसको लागि साबुन र पानीको घोल बनाउनुपर्छ । यो घोलले फर्निचरमा स्प्रे गरेर ५ देखि १० मिनेटको लागि त्यसै छाडिदिनुपर्छ । यसपछि फर्निचरलाई कपडाले पुछ्नुपर्छ । यसो गर्दा प्लास्टिकको फर्निचरमा नयाँ चमक आउँछ । प्लास्टिकमा लागेको हल्का दागहरुलाई बैंकिङ सोडाले पनि धुन सकिन्छ । यसको लागि स्पन्जलाई बैंकिङ सोडामा भिजाएर दाग लागेको ठाउँमा घुमाएर रगड्नुपर्छ । यसोगर्दा दाग हल्का हुन्छ । जेल नभएको टुथपेस्टले प्लास्टिक फर्निचरमा कोरिएको दाग हटाउन सकिन्छ ।

हामीले घरलाई जति सिङ्गारे पनि घरको फर्निचर फोहोर छ भने घरको सुन्दरता अपुरो हुन्छ । त्यसैले घरको सरसफाई गर्दा घरमा भएका फर्निचरको सरसफाई गर्नु अति नै आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment