Comments Add Comment

तुलसीपुरमा आधुनिक बसपार्क निर्माण   

७ कात्तिक, दाङ । चारैतिर खचाखच गाडी, वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने गरेको तुलसीपुर बसपार्क अहिले भने चिटिक्ट हुँदै गएको छ ।

यात्रुलाई सहज तथा सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हुँदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट ऋण तथा अनुदान रकम लिई त्यहाँ आधुनिक बसपार्क निर्माण गरेको हो ।

आधुनिक बसपार्क निर्माण भएपछि यहाँका नागरिक पनि सुविधा सम्पन्न बसपार्कबाट अब सेवा लिन पाइने भयो भन्दै खुशी भएका छन् । आधुनिक बसपार्क निर्माणको सम्झौता बमोजिमको सम्पूर्ण काम पूरा भएको र छिट्टै भवनको उद्घाटन गरिने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

विसं २०७४ वैशाख महिनामा आधुनिक बसपार्क निर्माणका लागि बोलपत्र प्रक्रिया बढाएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए । भ्याटबाहेक नौ करोड नौ लाख रुपैयाँको लागतमा सम्झौता अनुसारको निर्माणको पहिलोचरणको काम पूरा भएको इञ्जिनियर योगीले बताए  । बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी काठमाडौँले पाएको थियो ।

निर्माणको जिम्मेवारी पाए पनि बसपार्क बनाउने जग्गाको केही भागमा अटोभिलेज हुँदा केही समय जग्गा विवादका कारण काम अवरुद्ध भएको थियो । जनप्रतिनिधि, यहाँका नागरिक समाज, दलका नेता, उद्योगी, स्थानीयवासीबीच समन्वय गरी छलफल भई समस्या समाधान भएसँगै निर्माणको कामले तीव्रता पाएको थियो । अहिले निर्माणको काम पूरा भएको इञ्जिनियर योगीले जानकारी दिए ।

अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका–६ रजौराको कमलपोखरी सामुदायिक वनको जग्गामा सारिएको छ । आधुनिक बसपार्क साढे पाँच बिघाहा क्षेत्रफल जग्गामा फैलिएको छ ।

त्यहाँ तीन सय बढी सवारीसाधन व्यवस्थित रुपमा राखिने क्षमता रहेको छ । त्यहाँ यात्रु प्रतिक्षालय, टिकट काउन्टर भवन, शौचालय र पक्की सडक निर्माण गरिएको पनि योगीले जानकारी दिए । उनका अनुसार बसपार्कभित्र ५२ वटा व्यावसायिक टहराका प्रशासनिक भवन, रेष्टुरेन्टलगायतका संरचना निर्माण गरिएको छ । सो बसपार्कमा स्तनपान कक्ष निर्माण गरिएको छ ।

बसपार्क निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका व्यवसायी मीनराज भण्डारीले बताए । ‘बसपार्क छेउमा आफूले लामो समयदेखि किराना पसल गर्दै आएको र धुलो, अव्यवस्थित पार्किङका कारण सास्ती खेप्नु परेको थियो, अब भने सजह हुने भयो’, भण्डारीले भने ।

त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका सचिव प्रकाश भट्टले बसपार्क निर्माणले अब जथाभावि रुपमा गाडी राख्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । तुलसीपुर उपमहापालिकाका उपप्रमुख माया आचार्यले बसपार्क निर्माणले नागरिकलाई सहज, तथा सुरक्षित यात्रा गराउन सजिलो भएको बताए  ।

उनले भने, ‘यसले तुलसीपुर बजारलाई स्मार्टसिटिको रुपमा विकास गर्ने र नगरको सुन्दता बढाउन, नागरिकलाई सुविधा प्रदान गर्न सहयोग हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment