Comments Add Comment

प्रदेश २ मा साना हतियारको बिगबिगी

७ कात्तिक, जनकपुरधाम । जनकपुर उप-महानगरपालिका- १४, मुजेलियाका पंकज चौधरीले बुधबार बिहान अटोमेटिक पेस्तोलबाट दुईराउण्ड गोली हानेर वडानम्बर १ का पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या गरे । प्रहरीले चौधरीबाट अटोमेटिक पेस्तोलको १९ राउण्ड गोली र तीन राउण्ड गोलीसहित एउटा कटुवा पेस्तोल पनि बरामद गरेको छ ।

सानातिना ठेक्कापट्टाको काम गर्ने व्यक्तिले उधारो डिजेलको पैसा उठाउन आएका साथीसँग भएको विवादका क्रममा हत्या नै गर्नु र यतिका गोलीसहित दुई-दुई थान साना हतियार बरामद हुनु सामान्य घट्ना होइन । द्वन्द्वकालमा तराई-मधेशमा साना हतियारको बिगबिगी थियो ।

शान्ति सुरक्षाका लागि अहिले पनि साना हतियार उत्तिकै खतराको रुपमा रहेको पछिल्लो घटनाले देखाएको छ । हुन पनि पछिल्लो समयका सबैजसो हत्या अपराधमा साना हतियार प्रयोग भएका छन् ।

गएको ३ जेठमा पर्साको जिराभवानीपुर गाउँपालिका- १, पलुवाका ४८ वर्षीय शेख फरुकलाई घरायसी विवादमा उनकै भाइ शेख सेरामुद्दिनले कटुवा पेस्तोलबाट गोली प्रहार गरेर हत्या गरेका थिए । ३८ वर्षीय सेरामुद्दिन अहिले थुनामा छन् ।

५ असोजमा सप्तरी सदरमुकाम राजविराजबाट डाक्नेश्वरी नगरपालिका- ७ मा पर्ने ब्रहमपुर गाउँ जाँदै गरेका भगवती मण्डल (२५) लाई अज्ञात समूहले विषहरियामा रोकेर कटुवा पेस्तोलबाट हत्या गरेको थियो । त्यसअघि १९ फागुनमा मृत भेटिएका सर्लाही सदरमुकाम मलंगवाका मनोज यादवलाई पेस्तोलबाटै पाँचराउण्ड गोली हानिएको पाइएको थियो । उनीमाथि पनि साना हतियारले नै गोली प्रहार गरेको देखिएको थियो ।

त्यस्तै १८ साउन २०७५ मा जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा मृत भेटिएका कमला नगरपालिका- ८ का २६ वर्षीय राजेश यादवलाई पनि साना हतियारबाट गोली दागिएको थियो ।

२ माघ २०७५ मा सप्तरीको बोदे बर्साइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हबल्दार महेन्द्र चतरा यादवलाई कटुवा पेस्तोलबाट गोली हानेर अज्ञात व्यक्तिहरु फरार भएका थिए ।

गम्भीर घाइते भएका यादबको ज्यान भने जोगिएको थियो । त्यसअघि २ माघ २०७२ मा अज्ञात समुहबाट कटुवा पेस्तोलको निशाना बनेका सप्तरीकै झुटकी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बा ज्यानै गएको थियो ।

१५ महिनामा ८६ हतियार बरामद

बुधबार मुजेलियामा मनोज साहको हत्या भएकै ठाउँबाट तीन साताअघि कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका थिए । त्यस्तै १७ असोजमा प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका- ९ का आनन्द पाठकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो । मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा हतियारसहित २१ वर्षीय पाठक समातिएका थिए ।

त्यअघि २८ भदौमा धनौजी गाउँपालिका- २ का मनिष मिश्र जनकपुर- २५, लोहनामा हतियारसहित समातिएका थिए । उनीबाट प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको थियो । प्रहरीका अनुसार, चालू आर्थिक बर्षको चारमहिनाभित्रै बिभिन्न किसिमका १८ वटा साना हतियार सहित ३१ जना पक्राउ परेका छन् ।

उनीहरुबाट ५३ राउण्ड गोली र ३ वटा म्यागेजिनसमेत बरामद भएको प्रदेश २ का प्रहरी प्रबक्ता रहेका डीएसपी ज्ञानकुमार महतोले बताए । उनका अनुसार, गत आव २०७५/७६ मा प्रदेशका आठजिल्लाबाट बिभिन्न किसिमका ६८ थान हतियार, १३६ राउण्ड गोली र १० थान म्यागेजिनसहित ६६ जना समातिएका थिए ।

प्रदेश प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्की हतियार नियन्त्रण अभियान जारी रहेको बताउँछन् । ‘यसका लागि सादा पोशाकमा प्रहरी खटिएका छन्’, उनले भने, ‘सिमानाकामा सतर्कता बढाएका छौं । भारतीय प्रहरीसँग पनि समन्वय गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment