Comments Add Comment

गुलाब र बाग्मती स्वीट्सका अखाद्य वस्तु नष्ट

८ कात्तिक, काठमाडौं । सुन्धारास्थित शालिमार हस्पिटालिटीको गुलाब ब्राण्ड र त्रिपुरेश्वरको बाग्मती स्वीट्समा भेटिएको अखाद्य वस्तु सरकारी अनुगमन टोलीले नष्ट गरेको छ ।

शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र काठमाडौं महानगरपालिका तथा उपभोक्ता अधिकारकर्मी सम्मिलित संयुक्त टोली अनुगमनमा खटिएको थियो ।

अनुगमनका क्रममा भेटिएका सडेगलेका मिठाई बनाउने सामग्री नष्ट गरिएको खाद्य प्रविधि विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । शालिमार हस्पिटालिटी अन्तर्गतको गुलाब ब्राण्डको उद्योगले मिठाई बनाउन प्रयोग गरेको किरा लागेको २६ किलो बेसनको पिठो र १० किलो म्याद सकिएको बेसन जफत गरेर नष्ट गरेको हो ।

यस्तै मिठाई बनाउने स्थान निकै फोहोर राखिएको भन्दै अनुगमन टोलीले गुलाबको उद्योगको मुचुल्का उठाएर थप कारबाहीको लागि विभागमा बुझाउने तयारी गरेको अनुसन्धान अधिकृत सुवेदीले बताए ।

दशैंको मुखैमा कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी सम्मिलित अनुगमनमा पनि गुलाबको मिठाईमा अत्यधिक हानिकारक रङ्ग प्रयोग गरिएको पाइएको थियो ।

यस्तै त्रिपुरेश्वरको बाग्मती स्वीट्सबाट १० किलो सडेको मिठाई अनुगमन टोलीले जफत गरेको छ । भुसुना भरिएको चमचम नामको मिठाई जफतपछि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

उक्त मिठाई भण्डारबाट अनुगमन टोलीले लेबल नभएको १० किलो चिप्स पनि जफत गरेर नष्ट गरेको अनुगमनमा सहभागी उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment