Comments Add Comment

५ दिनभित्र इँट्टाभट्टा हटाउन चन्द्रागिरि नगरपालिकालाई अल्टिमेटम

Photo Credit : फाइल तस्वीर

८ कात्तिक, काठमाडौं । स्थानीयले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिका भित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाका विभिन्न ठाउँका वासिन्दाले शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिँदै नगरभित्रका सबै इँट्टाभट्टा हटाउन माग गर्दै धर्ना दिएका हुन् ।

उनीहरुले चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाउँदै ५ दिनभित्र त्यहाँका इँट्टाभट्टा हटाउने निर्णय कार्यान्वयनमा नल्याए नगरपालिकाविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।

क्यान्सरजस्ता घातक रोगहरु निम्त्याउने इँट्टाभट्टा हटाउने नगरपालिकाको निर्णय ५ दिनभित्र पनि कार्यान्वयनमा नआए नगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने इट्टाभट्टा पीडित संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेले चेतावनी दिए । उनले सो नगरपालिकाले प्रदुषणमुक्त नगर बनाउन गरेको आफ्नै घोषणा कार्यान्वयनमा ल्याउन नचाहेकाले आफूहरु चरणवद्ध आन्दोलन गर्न बाध्य हुनुपरेको बताए ।

धर्ना कार्यक्रममा कीर्तिपुर नगरपालिका ४ का वडाध्यक्ष राजेन्द्र बानियाँले आफ्नो वडाबाट इँट्टाभट्टा हटाउन आफू तयार रहेको बताए । उनले स्थानीयले इँट्टाभट्टा हटाएर सो ठाउँलाई धुवाधुलोमुक्त बनाउन चाहेकाले त्यसमा आफ्नो साथ रहने प्रतिवद्धता जनाए ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सबै वडासँग छलफल गरेर सो क्षेत्रमा रहेका सबै इँट्टाभट्टाहरु हटाउने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकाभित्र हुने सबै प्रकारका प्रदुषण नियन्त्रण गर्न नगरपालिका तयार रहेको पनि बताए ।

चन्द्रागिरी नगरपालिकाले आफ्नो नगरलाई प्रदुषणमुक्त बनाउने नीति तय गरे पनि कार्यान्वयनमा नगरेकोमा स्थानीयको आक्रोश छ । उनीहरुले क्यान्सरजस्ता घातक रोगसमेत निम्त्याउने भएकाले त्यस क्षेत्रबाट तत्काल इँट्टाभट्टा हटाउन माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment