Comments Add Comment

लोथरसम्म पेट्रोलियम पाइपलाइन ल्याउन रुट सर्वे, भण्डारणसहितको लागत २५ अर्ब

Photo Credit : फाइल तस्वीर

८ कात्तिक, काठमाडौं । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने मार्गको विस्तृत इन्जिनियरिङ अध्ययन सकिएको छ ।योजनाअनुसार लोथरमा पेट्रोलियम तथा ग्यास पाइपलाइन ल्याएर भण्डारण केन्द्र स्थापना गर्ने हो भने करिब २५ अर्ब खर्चिनुपर्ने अध्ययनको निश्कर्ष छ ।

लोथरसम्म खाना पकाउने ग्यास र पेट्रोल ल्याउने पाइपलाइन विस्तार गर्न १६ अर्ब ८६ करोड रुपैयाँ खर्च लाग्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

पेट्रोलियम पाइपलाइनको लागि ५ अर्ब ६७ करोड करोड नेपाली र ग्यास पाइपलाइनका लागि थप ११ अर्ब १९ करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

निगमका अनुसार लोथरमा पेट्रोलियम भण्डारण केन्द्र बनाउन ४ अर्ब १९ करोड रुपैया र ग्यास भण्डारण केन्द्र बनाउन ३.८१ अर्ब खर्च हुने जनाएको छ । यसरी लोथरमा योजनाअनुसार पाइपलाइन ल्याएर स्टोरेजसम्म निर्माण गर्दा कुल २४ अर्ब ८६ करोड खर्च हुने अनुमान छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले तोकेको प्राविधिक टोलीले अमलेखगञ्जदेखि लेथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन र रक्सौलको नेपाली सीमादेखि लोथरसम्म करिब ९८ किलोमिटर ग्यास पाइपलाइनको रुट सर्वे गरेको र मोटामोटी लागत निकालेको निगमका कार्यकारी निर्देशक पौडेले बताए ।

अध्ययनमा खटिएका नेपाल आयल निगम अमलेखगञ्ज क्षेत्रीय डिपोका प्रमुख प्रदीपकुमार यादवका अनुसार राजमार्गकै बाटो भएर ग्यास र पेट्रोलियम पाइपलाइन लोथरसम्म ल्याउन सम्भव देखिएको छ । ‘यसरी विस्तार गरिने पाइपलाइनमा ३ देखि ४ ठाउँमा सुरुङ बनाउनुपर्ने अध्ययनमा देखिएको छ । पाइपलाइनमार्फत मोतिहारी–अमलेखगञ्ज आइरहेको परिमाणकै इन्धन लोथरसम्मै पुर्‍याउन सकिनेछ’ प्रमुख यादवले भने ।

निगमको आग्रहमा आईओसीले आफ्नै खर्चमा लोथरसम्मको पेट्रोलियम र ग्यासको पाइपलाइनको अध्ययन गरेको थियो । दुवै पाइपलाइनको अध्ययनको सबै जिम्मेवारी आईओसीले मुम्बईस्थित एमएस एसोसिएसनलाई दिएको थियो ।

अब शनिबार पाइपलाइनको रेखाकंनमा किला गाडेर विस्तारको औपचारिक आरम्भको सन्देश दिने निगमले जनाएको छ । शनिबार पाइपलाइनको रुटमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले किला गाड्ने कार्यक्रम तय भएको छ ।

भारतको हल्दियाबाट मुज्जफरपुरसम्म विस्तार भइरहेको ग्यास पाइपलाइन मोतिहारी हुँदै रक्सौलको इण्डो–नेपाल बोर्डरसम्म आइपुगेपछि यसैमा लोथरको पाइपलाइन जोडिने यादव बताउँछन् ।

लोथरमा २४ बिघा ९ कट्ठा जग्गामा एक लाख किलोलिटर पेट्रोल र ४० हजार मेट्रिक टन एलपी ग्यास भण्डारण गृह निर्माण गर्ने तयारी छ ।

अध्ययन सम्पन्न भए पनि आयोजनामा कसले लगानी गर्ने भन्ने टुंगो भने नलागेको स्रोतले बताएको छ । मोतीहारी अमलेखगञ्ज पाइपलाइनको खर्च आईओसीले नै ब्योहोरेका कारण यो परियोजनामा उसैलाई लगानी गर्न आग्रह गर्ने निगमको तयारी छ ।

*यसअघि तथ्यांकमा भएको त्रुटि सच्याइएको छ । -सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment