Comments Add Comment

तिहारमा प्रदर्शित फिल्मको आम्दानी १८ सय करोड !

तिहारको रमझम सुरु भैसकेको छ । यसपटकको तिहारलाई लक्षित गर्दै बलिउडमा तीन वटा नयाँ फिल्महरु प्रदर्शन भएका छन् । ती मध्ये सबैभन्दा ठूलो फिल्म हो हाउसफूल-४, जसमा अक्षय कुमार, बबी देओल, रितेश देशमुख, कृति सेनन, पूजा हेग्डे आदि कलाकारले अभिनय गरेका छन् । हाउसफूल ४ संगै साण्ड की आँख तथा मेड इन चाइना पनि प्रदर्शन भएका छन् ।

साण्ड की आँखा चर्चित शूटर दादी चन्द्रो तोमर तथा प्रकाशी तोमरको बायोपिक हो । यो फिल्ममा तापसी पन्नू तथा भूमि पेडनेकर मुख्य भूमिकामा छन् । तेस्रो फिल्म हो मेड इन चाइना । यो फिल्ममा राजकुमार राव, परेश रावल तथा मौनी राव मुख्य भूमिकामा छन् ।

यदि पछिल्लो १० वर्षमा तिहारको अवसर पारेर प्रदर्शन भएका फिल्महरुको बक्स अफिस रिपोर्टलाई नियाल्ने हो भने सन् २००९ देखि २०१८ सम्म यी कुराहरु महत्वपूर्ण मानिएका छन् :

तिहारको अवसरमा प्रदर्शन भएका चार वटा फिल्महरुले २ सय करोड भारतीय रुपैयाँभन्दा बढि आम्दानी गर्न सफल भएका छन् ।

-तिहारमा यी दश वर्षमा १६ वटा फिल्महरु प्रदर्शन भएका छन्, जसले करिव १८ सय ३२ करोड भारु बराबरको आम्दानी गरेका छन् ।

-तिहारमा पाँच पटक ठूला बजेटका फिल्महरु जुधेका छन् ।

-तिहारमा पाँच पटक सोलो फिल्महरु प्रदर्शन भएका छन् ।

-अक्षय कुमारले तिहारको अवसरमा ठूलो सफलता पाउन सकेका छैनन् ।

-अजय देवगण, शाहरुख खान, ऋतिक रोशनका लागि तिहार मनमोहक रहँदै आएको छ ।

-सलमान खानका लागि तिहार औषत रहँदै आएको छ ।

२००९ : अल द बेस्ट, ब्लू, मैं और मिसेस खन्ना

सन् २००९ को अक्टोबर १६ का दिन रोहित शेट्ट निर्देशित अल द बेस्ट प्रदर्शन भयो, जसमा अजय देवगण र सञ्जय दत्त मुख्य भूमिकामा थिए । त्यही दिन एन्थनी डिसूजा निर्देशित फिल्म ब्लू तथा प्रेम सोनीको मैं और मिसेज खन्ना प्रदर्शन भएको थियो ।

ब्लूमा अक्षय कुमार तथा सञ्जय दत्त मुख्य भूमिकामा थिए भने मैं और मिसेज खन्नामा सलमान खान, करीना कपूर तथा सोहेल खान मुख्य भूमिकामा थिए । प्रतिस्पर्धा चर्को थियो, तर केवल अल द बेस्टले मात्र सफलता पायो ।

२०१० : गोलमाल ३, एक्शन रिप्ले

सन् २०१० को तिहारमा पुनः एक पटक अक्षक कुमार तथा अजय देवगणबीच प्रतिस्पर्धा भयो । गोलमाल सीरीजको तेस्रो भाग गोलमाल-३ नोभेम्बर ५ का दिन प्रदर्शन भयो । त्यससंगै विपुल शाहको एक्शन रिप्ले प्रदर्शन भयो । स्टार पावरको हिसाबले दुबै फिल्महरु उस्तै थिए, तर दर्शकहरुले गोलमाल-३ लाई मन पराए ।

२०११ : रा.वन

अजय देवगण झैं शाहरुख खान पनि तिहारको बेला प्रायः आफ्ना फिल्महरु प्रदर्शन गराइरहन्छन् । सन् २०११ को अक्टोबर २६ का दिन शाहरुखको रा.वन प्रदर्शन भयो । अनुभव सिन्हाद्वारा निर्देशित उक्त साइन्स फिक्सन फिल्मले प्राविधिक रुपमा अत्यधिक प्रशंसा पायो । बक्स अफिसमा पनि उक्त फिल्मले १ सय १८ करोड भारु आम्दानी गर्न सफल भयो । २०११ को तिहारमा यो एउटा मात्र फिल्म प्रदर्शन भएको थियो ।

२०१२ : जब तक है जान, सन अफ सरदार

सन् २०१२ को नोभेम्बर १३ का दिन बक्स अफिसमा पुनः एउटा ठूलो भिडन्त भयो । उक्त वर्षको तिहारमा यश चोपडाको अन्तिम फिल्म जब तक ह जान तथा अश्विनी धीरको सन अफ सरदार प्रदर्शन भए । एकातिर शाहरुख खान थिए भने अर्कोतिर अजय देवगण तथा सञ्जय दत्त । दुबै फिल्मले सफलता पाए ।

२०१३ : कृष ३

सन् २०१३ मा ऋतिक रोशनको सुपरहिट फिल्म कृष ३ प्रदर्शन भयो । उक्त वर्षको तिहारको अवसर पारेर ३१ अक्टोबरमा प्रदर्शन भएको उक्त फिल्मले २ सय ४० करोड भारु भन्दा बढिको व्यवसाय गर्‍यो । राकेश रोशनको निर्देशनमा बनेको यो फिल्ममा विवेक ओवराय, पि्रयंका चोपडा तथा कंगना रनौत मुख्य भूमिकामा थिए ।

यस वर्ष प्रदर्शन भएको वार भन्दा पहिला कृष ३ नै ऋतिक रोशनको सबैभन्दा धेरै व्यवसाय गर्ने फिल्म थियो । कृष ३ उक्त वर्षको तिहारमा प्रदर्शन हुने एक्लो फिल्म थियो ।

२०१४ : हृयाप्पी न्यू ईयर

सन् २०१४ को तिहारमा शाहरुख खान पुनः एक पटक सिनेमा हलमा फर्किए । उक्त वर्षको अक्टोबर २४ का दिन फराह खान निर्देशित हृयाप्पी न्यू ईयर प्रदर्शन भयो । उक्त मल्टि स्टाटर फिल्ममा अभिषेक बच्चन, सोनू सूद, विवान शाह, बम ईरानी तथा दीपिका पादुकोण पनि मुख्य भूमिकामा थिए । उक्त फिल्मले २ सय ५ करोड भारुको व्यवसाय गर्न सफल भयो । उक्त वर्षको तिहारमा प्रदर्शन हुने यो एक्लो फिल्म थियो ।

२०१५ : प्रेक रतन धन पायो

सन् २०१५ को तिहारको अवसरमा नोभेम्बर १२ का दिन सलमान खानको फिल्म प्रेम रतन धन पायो प्रदर्शन भयो । सलमान खान लामो समयपछि तिहारको अवसर पारेर दर्शकमाझ आएका थिए । सूरज बडजात्याद्वारा निर्देशित उक्त फिल्म तिहारमा प्रदर्शन हुने एक्लो फिल्म बन्यो, जसले उत्कृष्ट व्यवसाय गर्न सफल भयो । फिल्मले २ सय ७ करोड भारुभन्दा बढि व्यवसाय गर्‍यो । फिल्ममा सोनम कपूरले सलमानको जोडीको रुपमा अभिनय गरेकी थिइन् ।

२०१६ : ऐ दिल है मुश्किल, शिवाय

सन् २०१६ को अक्टोबर २८ का दिन प्रदर्शन भएको करण जौहरको ‘ऐ दिल है मुश्किल’ तथा अजय देवगण निर्देशित ‘शिवाय’ प्रदर्शन भयो । दुबै फिल्म सफल भए । त्यसो ऐ दिल है मुश्किलले झन् राम्रो गर्न सफल भयो ।

२०१७ : गोलमाल अगेन, सीक्रेट सुपरस्टार

आमिर खानको सीक्रेट सुपरस्टा सन् २०१७ को अक्टूबर १९ का दिन प्रदर्शन भएको थियो, जबकि गोलमाल अगेन त्यसको भोलिपल्ट अर्थात २० अक्टोबरको दिन सिनेमा घरमा आएको थियो । रोहित शेट्टीद्वारा निर्देशित गोलमाल अगेन तथा अद्वैत चन्दनद्वारा निर्देशित सीक्रेट सुपरस्टार सफल भयो । सीक्रेट सुपरस्टारको निर्माण आमिर खानले गरेका थिए । गोलमाल अगेन अजयको पहिलो २ सय करोडको आँकडा पुरा गर्ने फिल्म थियो ।

२०१८ : ठग्स अफ हिन्दोस्तान

सन् २०१८ मा आमिर खानको ठग्स अफ हिन्दोस्तान तिहारको एक दिनपछि नोभेम्बर ८ का दिन प्रदर्शन भएको थियो । विजय कृष्ण आचार्यद्वारा निर्देशित उक्त फिल्ममा अमिताभ बच्चन, आमिर खान तथा कटरीना कैफ जस्ता कलाकारले अभिनय गरेका थिए । फिल्मले प्रदर्शन हुनु अघिसम्म राम्रो हाइप पनि बनाएको थियो, त्यसैले पनि गत वर्षको तिहारमा अन्य हिन्दी फिल्महरु प्रदर्शन भएनन् । फिल्मले उत्कृष्ट सुरुवात त गर्यो तरपछि त्यसको व्यवसायमा लगातार गिरावट आउन थाल्यो । फिल्मले १ सय ४५ करोड भारुको मात्र व्यवसाय गरेर वर्ष २०१८ कै सबैभन्दा ठूलौ फ्लप फिल्मको सूचीमा दर्ता हुन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment