Comments Add Comment

बेइजिङ उड्यो हिमालय एयरलाइन्सको जहाज

१० कात्तिक, काठमाडौं । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान थालेको छ । आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि जहाज उडेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पहिलो उडानमा ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो । नेपाली हवाई इतिहासमै पहिलो पटक नेपालमा दर्ता भएको कम्पनीबाट चीनको राजधानी बेइजिङका लागि सिधा उडान भएको हो ।

विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईबाट ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो । त्यसबाहेक कुनै पनि नेपाली कम्पनीले चिनियाँ शहरमा काठमाडौंबाट सिधा उडान गर्न सकेका थिएनन् ।

प्रारम्भमा साताको दुई उडान

हिमालय एयरलाइन्सले प्रारम्भिक दुई/तीन सातासम्म साताको दुई उडानको तयारी गरिरहेको छ । हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ । बिहान उड्ने जहाज राति १० बजे काठमाडौं आइपुग्नेछ । त्यसपछि भने साताको तीन उडान पु¥याउने र त्यसको केही समयभित्रै दैनिक उडानको तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । ‘हामीले एक ऐतिहासिक उडानको प्रारम्भ गरेका छौं,’ उनले भने, ‘यसलाई दैनिक बनाउने लक्ष्य छ, निकट भविष्य मै त्यो लक्ष्य पुरा हुन्छ ।’

यसअघि नेपाल र चीन दुई मुलुकका राजधानीलाई जोड्न कुनै पनि वायुसेवाले सकेका थिएनन् । अहिले चीनबाट नेपालमा ५ वटा वायुसेवा कम्पनीले काठमाडौंमा उडान गर्छन् । तर, ती कुनै पनि वायुसेवाले बेइजिङसँग काठमाडौलाई जोड्न सकेका छैनन् । बेइजिङ उडान नेपाल भ्रमण वर्षको अभियानमा समेत महत्वपूर्ण सावित हुने हिमालय एयरलाइन्सको विश्वास रहेको छ । हिमालय एयरलाइन्सले चीनको राजधानीमा बेइजिङमा निर्माण भई संचालनमा आएको संसारकै ठूलो विमानस्थलमध्ये एक डाक्सिङ विमानस्थलमा उडान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment