Comments Add Comment

तीन महिनामा आफन्तबाटै ८ जनाको हत्या

१० कात्तिक, विराटनगर । चालु आर्थिक वर्षको तीन महिनामा प्रदेश १ मा आफन्तबाटै ८ जनाको हत्या भएको छ ।

गत साउनदेखि असोजसम्ममा आफन्त र परिवारका निकट सदस्यबाट ८ जनाको हत्या भएको प्रहरीले बताएको छ । जसमा ६ महिला र दुई पुरुष रहेका छन् ।

उदयपुरमा २, सुनसरी, मोरङ, संखुवासभा, खोटाङ, इलाम र भोजपुरमा एक÷एक जनाको हत्या भएको छ । यी घटनामा श्रीमतीबाट श्रीमानसमेत मारिएका छन् । यसैगरी बाबुआमाले मिलेर सन्तानको हत्या गरेका छन् भने छोराले आमाबाबुको हत्या गरेको घटना पनि छ ।

यस्तै, छोराबुहारी मिलेर आमाबाबुको हत्या गरेको, आमाले नवजात शिशुको हत्या गरेको घटना पनि भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शेखर कोइरालाले परिवारका सदस्यदेखि निकटका मानिसको हत्याका घटना बढी रहेको पाइएको बताए ।

कोइरालाका अनुसार हत्याका धेरै कारण भए पनि सामाजिक–आर्थिक कारण मुख्य रहेको छ । धेरै जसो घटना गरिबीका कारणसंग जोडिएको पनि उनले बताए ।

तीन महिनामा २८ को हत्या

प्रदेश १ प्रहरी कार्यालयले तयार पारेको तथ्यांकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल २८ वटा हत्याका घटना भएको छ । प्रहरीका अनुसार तीन महिनाको यो अवधिमा १५ पुरुष र १३ महिनाको हत्या भएको छ ।

प्रदेश १ का धनकुटा, तेह्रथुम र ओखलढुंगाबाहेकका अन्य सबै जिल्लामा हत्याका घटनामा भएका छन् । प्रहरीका अनुसार तीन महिनाको अवधिमा सबै भन्दा बढी झापामा ५ पुरुष र १ महिलासहित ६ जनाको हत्या भएको छ ।

अन्य जिल्लामा उदयपुर, संखुवासभा, मोरङमा चार/चार जना, सोलुखुम्बु र भोजपुरमा तीन/तीन जना, पाँचथरमा दुई र अन्य जिल्लामा १/१ जनाको हत्या भएको छ । प्रहरीले हत्याको अभियोगमा ४३ पुरुषसहित ४ महिना पक्राउ गरेका छ । घटनामा संलग्न ९ जना फरार रहेका छन ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा १ सय २ वटा हत्याका घटनामा भएका थिए । जसमा २८ प्रतिशत घटनामा आफन्तबाटै आफन्तका हत्या भएको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment