Comments Add Comment

तरुण दलको गुटमा रमाए कांग्रेस नेताहरु

१० कात्तिक, काठमाडौं । नेपाल तरुण दलले ६६ औं स्थापना दिवस मनाएको छ, तर गुटमा विभाजित भएर ।

अध्यक्ष जीतजंग बस्नेत समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा कार्यक्रम गरेको छ भने महासचिव भुपेन्द्रजंग शाही समूहले सामखुसीमा ।

बस्नेत समूहको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा आफैं सहभागी भए । उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार लगायतका संस्थापन पक्षका नेताहरु पनि उपस्थित थिए ।

सामखुसीमा भएको कार्यक्रममा डा. रामशरण महत, शेखर कोइराला, गुरुराज घिमिरेसहितका नेताहरु । शाही समूहको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरु आउन भनिएको थियो तर सहभागी भएनन् ।

एक नेताले भने दुबै कार्यक्रमको निम्तो आएको तर नभ्याएर नगएको बताएका छन् ।

विवादैविवाद

बीपी कोइरालाको प्रेरणामा २०१० कात्तिक १० मा स्थापना भएको तरुण दलको इतिहास बर्गीलो छ । कांग्रेसको राजनीतिमा स्थापित भएका बहुसंख्यक शीर्ष नेताहरु विद्यार्थी र तरुण राजनीतिबाटै आएका हुन् । तर पछिल्लो समय तरण दल विवादमा रुमलिएको छ ।

२०७३ मंसिरमा पोखरामा भएको चौथो अधिवेशनले नयाँ नेतृत्व समेत चुन्न सकेन । कांग्रेसको गुटका आधारमा चार पदको भागवण्डा भयो ।

सभापति शेरबहादुर देउवाकेा कोटाबाट बस्नेत अध्यक्ष हुँदा पौडेल समूहबाट शाही महासचिव भए । कृष्ण सिटौला समूहको कोटाबाट उपाध्यक्षमा उत्तम चापागाइँ र खुमबहादुर खड्का समूहबाट कोषाध्यक्षमा विद्दान गुरुङ चयन भए । ९५ सदस्यीय केन्द्रीय समिति गठन हुन सकेन ।

भागवण्डाबाट आएका पदाधिकारीहरुबीच संगठनलाई चुस्त बनाउनेभन्दा पनि आफू निकटकालाई केन्द्रीय समितिमा ल्याउने विवाद चल्यो ।

विवादमै दुई वर्षे कार्यकाल सकियो । पछिल्लो समय तरुण दलमा अध्यक्ष र महासचिव एकअर्काको निर्णय उल्टाउन थाले । यो विवादको उत्कर्षका त्यसबेला देखियो, जब अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई संगठनबाट निस्कासन गरेको भन्दै वक्तव्यबाजी गरे ।
तर कांग्रेसका शीर्ष नेताहरु नै तरुण दलको विवाद मिलाउन भन्दा मलजल गर्न लागेको देखियो ।

विवाद स्वभाविकः कोइराला

शाही समूहको कार्यक्रममा नेता शेखर कोइरालाले तरुण दलको विवाद स्वभाविक भएको बताए । भने, ‘पार्टीमा नै विवाद छ भने तरुण दलमा विवाद हुँदैन भन्ने होइन ।’

तरुण दलको स्थापना दिवस एउटै ठाउँमा मनाउने वातावरण मिलाउन आफूहरुले पार्टी सभापति र वरिष्ठ नेतालाई आग्रह गरेको तर सबै गुटमा रमाएको उनले बताए । यद्यपि तरुण दलको अध्यक्षलाई महासचिव हटाउने अधिकार नभएको नेता कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment