Comments Add Comment

गुल्मीको रेसुङ्गामा सामुहिक गाईपूजा

११ कात्तिक, रेसुङ्गा । गुल्मीको रेसुङ्गास्थित गौशालामा सामुहिक गाईपूजा गरिएको छ । गाईको महत्वबारे जानकारी दिन पहिलोपटक गौ-प्रवचन पनि आयोजना गरिएको छ ।

रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अवसर पारेर प्रसिद्ध धार्मिकस्थल रेसुङ्गाको गौशालामा रहेका गाईहरुको सामूहिक पूजा र गौप्रवचन गरिएको हो ।

रेसुङ्गाको गौशालामा हरेक वर्ष सामुहिक गाईपूजा हुँदै आएको छ । गाईपूजा गर्न सदरमुकाम तम्घाससँगै जिल्लाका बिभिन्न स्थानबाट मानिसहरु गौशालामा पुग्छन् ।

यसपटक पनि धेरै व्यक्तिहरु गाईलाई पूजा गरेर नुन, तेल, रोटी, चामलको पिठो लगायतका खानेकुरा खुवाउन रेसुङ्गाको गौशालामा भेला भएका छन् । हिन्दुधर्ममा गाईको पूजा गर्नाले स्वर्गको बास हुने धार्मिक विश्वास छ ।

गाईको महत्व बुझाउन गौप्रवचन

यसपटक गाईको महत्व जनमानसमा बुझाउने उद्देश्यले पहिलोपटक गौप्रवचन कार्यक्रम राखिएको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले बताए । गौशालामा रहेका गाई संरक्षणका लागि प्रत्येक व्यक्तिबाट प्रतिदिन १ रुपैयाँ उठाउने अभियान पनि चलाइएको भुसालले बताए ।

रेसुङ्गासँगै रहेको गौशालामा २०४२ सालदेखि गाई-गोरुहरु पालिदै आएको छ । यहाँको गौशालामा हाल झण्डै २ सय गाई-गोरुहरु रहेको रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

पितृहरुको मनोकांक्षा पूरा गर्न भन्दै गाईदान गरेर यहाँ छोड्ने प्रचलन छ । हाल गाईहरु राखिएको स्थानमा व्यवस्थित संरचना निर्माण गर्ने काम पनि भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment