Comments Add Comment

बंगलादेशका राष्ट्रपति नेपाल आउँदै, दुई देशीय व्यापार सम्झौताका लागि बंगलादेशको आग्रह

भुटानले तत्काल नमाने पनि त्रिदेशीय यातायात कार्यान्वयन हुने

११ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ ।

राष्ट्रपति हमिदको भ्रमणबारे परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उताबाट प्रस्तावित मिति नोभेम्बर ११- १४ हो, तर यो मिति केही दिन तलमाथि हुन सक्छ । दुबै देशका परराष्ट्र मन्त्रीस्तरीय वा सचिवस्तरीय बैठकले भ्रमणको मिति निश्चित गर्नेछ । तर, राष्ट्रपति हमिदको नेपाल भ्रमण सुनिश्चित भइसकेको छ ।’

यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो । सो बैठकमा पनि राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।

भ्रमणको एजेण्डामा के छ ?

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राष्ट्रपति हमिदको नेपाल भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार दुई देशका प्रधानमन्त्रीको छलफलपछि पत्रकारहरुसँग बोल्दै बंगलादेशका विदेश मन्त्री शाहिदुल हकले दुवै प्रधानमन्त्रीहरुले ‘बीबीआईएन मोटर भेइकल एगि्रमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने तत्परता व्यक्त गरेका छन् ।

बीबीआईएन अन्तरगत चारदेशहरु, बंगलादेश, भुटान, इण्डिया र नेपाल छन् । यी देशहरुवीच अन्तरदेशीय यातायात सञ्चालनका लागि यसअघि नै मोटर भेइकल एगि्रमेन्ट भइसकेको छ । तर, यसको कार्यान्वयनमा भुटानले गृहकार्य गर्नुपर्ने बताएकाले ढिलाइ भइरहेको छ ।

यो सम्झौता कार्यान्वयनका लागि यदि भुटानले थप समय मागेमा बंगलादेश, इन्डिया र नेपालवीच यो सम्झौता कार्यान्वयन गर्ने र तीन देशवीच यातायात सञ्चालनको प्रक्रिया अगाडि बढाउने प्रस्ताव बंगलादेशले नेपालसमक्ष राखेको छ ।

बाकुमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले तीन देशवीच यातायात सञ्चालनका लासगि आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिल्यै कुरा राखिसकेको भन्दै नेपाललाई पनि त्यसै गर्न आग्रह गरेकी थिइन् । प्रधानमन्त्री हसिनाले दुई साताअघि नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित बीबीआईएन सम्झौता कार्यान्वयनका विषयमा छलफल गरेकी थिइन् ।

राष्ट्रपति हमिदको नेपाल भ्रमणका बेला त्रिदेशीय सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र स्रोतको भनाइ छ ।

दक्षिण एशियाली सार्क संगठनमा आवद्ध रहेका नेपाल र बंगलादेशवीच पुरानो सम्बन्ध रही आएको छ । बंगलादेशकै सक्रिय पहलमा बनेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षता अहिले नेपालले गरिरहेको छ । तर, सार्क निश्क्रिय रहेको स्थितिमा नेपाल र बंगलादेश दुबैले यसको सक्रियालाका लागि संयुक्त पहल गर्न सक्ने स्थिति छ ।

पछिल्लो समयमा माथिल्लो कर्णालीबाट उत्पादन हुने ५०० मेघावाट बिजुली खरीद गर्न बंगलादेशले सहमति जनाइसकेको छ ।

यसबाहेक बंगलादेशमा मेडिकल साइन्स पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । यता बंगलादेशबाट मजदुरहरु नेपालका काम गर्न आउने क्रम पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment