Comments Add Comment

लक्ष्मीपूजाको  दियोबाट आगो सल्कँदा लाखौँको क्षति   

११ कात्तिक, सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीयवासी रुपा नेवारको छ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूजाकोठाबाट शुरु भएको आगोले नेवारको ढुङ्गा माटोले बनेको तीन तले घरको पूजाकोठा जलेर नष्ट भएको छ । साँझ ७:४५ बजेबाट शुरु भएको आगो राति ९:३० बजे स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो । तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालिका–२ का वडा सदस्यसमेत हुन् ।

एक हप्तामा करोड बढी क्षति

पछिल्लो एक हप्तामा नै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ । कात्तिक ३ गते मात्रै सोही गाउँपालिका–१ का चन्द्रप्रकाश कोइरालाको तीनतले घरमा आगलागी भएको थियो । प्रहरीको मूल्याङ्कनअनुसार कोइरालाको ९८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

यस्तै कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका–११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार सल्यानमा खड्काको घर पूर्णरूपले जलेर नष्ट हुँदा रु ८५ लाख बराबरको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment