Comments Add Comment

उपसभामुखको भाइटीका सम्झना

काठमाडौं । यसपालीको तिहारमा उप-सभामुख डा. शिवमाया तुम्बाहाम्फेको निधार खाली हुनेछ । उनको निधार खाली हुँदा सांसद विजय शुब्बाको निधार पनि भरी हुने छैन ।

उप-सभामुख भएपछिका शिवमायाको दुईवटा तिहार फूलटीकाविहीन बन्यो । अघिल्लो वर्ष उनी तिहारमा देश बाहिर थिइन्, यो वर्ष भाउजु खस्नुभयो । यी दाजुबहिनीले यसअघिका भाइटीकाहरुको सम्झना गर्नेछन्, यो पटक ।

तीन दाइ र एक भाइको लाडप्यारमा हुर्किइन् शिवमाया । सानैदेखि हरेक वर्ष चार निधारमा भाइटीकाको इन्द्रेणी चम्काउँदै आएपनि अझै सिक्दै गरेको उनी बताउँछिन् । भन्छिन्, ‘छिमेकका दिदीहरुको सिको गर्दै आएँ, तर अझै पनि विधि पुर्‍याउन बिर्सिदोरहेछु ।’

उनको शैशवकाल तेह्रथुम र झापामा बित्यो । स्कुल जाने उमेर भएपछि उनी बाबासँग झापाको घरमा बसिन्, दाजुहरु तेह्रथुममा । भेट हुन दशैं-तिहार कुर्नुपथ्र्यौ । शिवमाया भन्छिन्, ‘सबै एकै ठाउँमा हुन पाइने भएकाले पनि दशैं-तिहार औधी रमाइलो हुन्थ्यो ।’

हुन त शिवमाया र विजय सुब्बाहरु हिन्दु होइनन् । तर, हार्दिकताका लागि दशैं-तिहार मनाउने चलन बसेको शिवमाया बताउँछिन् ।

०००

१० कक्षा पढ्दासम्म दाजु विजयसँग चाडबाहेक अरु बेला शिवमायाको भेट भएन । २०४३ मा एसएलसी गरेर काठमाडौं आएपछि भने सँगै भएको उनी बताउँछिन् । बिजय सुब्बा जागिरसँगै राजनीतिमा पनि सक्रिय थिए । स्कुलमा हुँदै दुईपटक जेल परेकी बहिनी शिवमाया पनि काठमाडौं आएर कानुनको विद्यार्थी बनेपछि झन् राजनीतिमा लागिन् । ‘बाबाको एउटा भनाइले सधैं प्रेरित गरिरह्यो’, उनी भन्छिन्, ‘उहाँ भनिरहनु हुन्थ्यो-छोरी मरेर जाँदा सबैले सम्झने काम गर्नुपर्छ ।’

त्यो बेला काठमाडौंमा विद्यार्थी राजनीति यति जोडमा थियो कि कहिलेकाँही आधारातसम्म पञ्चायती सत्ताबिरुद्व गोप्य मिटिङ गर्न पथ्र्यो । पुरै क्लास लिन पाएको कुनै साता हुँदैनथ्यो । त्यही माहोलमा शिवमायाले विएल सकिन् र बिहे पनि गरिन् । त्यसपछि दाजु विजयलाई भेट्ने अवसर दशैं-तिहार नै हुन पुग्यो ।

स्नातकोत्तर गरेपछि त शिवमायाको बसाई बिराटनगर हुन पुग्यो । तिहारमा मायाको माला उनेर दाजुहरुलाई उतै बोलाउन थालिन् । उनले दाजुभाइलाई आफ्नै हातले उनको माला लगाइदिने र आफैंले पकाएको सेलरोटी खुवाउने गरेकी छन् । टीका लगाउनचाहिँ अहिलेसम्म पनि ढंग नपुग्ने गरेको बताउँदै उनी भन्छिन्, ‘विजय दाजु बिचबिचमा ‘अलि गतिलो भएन कि क्या हो’ भन्नुहुन्छ ।’

फूलटीकापछि शिवमाया दाजुहरुको शीरमा ढाकाटोपी ढड्याउँछिन् । दाजुहरुबाट दक्षिणामा प्रायः नगद र कहिलेकाही सरसामान पाउने गरेको उनले बताइन् ।

०००

विजय सुब्बाले राजनीतिमा उचाइ लिँदै गए । शिवमायाको पनि राजनीतिक यात्रा रोकिएन । दाजुबहिनीले सँगसँगै विद्यावारिधी पनि गरे, दुवै सांसद पनि बने ।

राजनीतिक उतारचढाव पनि आयो । विजय सुब्बा नेकपा -एमाले) छोडेर संघीय समाजवादी फोरममा गए, फर्किए । शिवमाया एमालेमै रहिरहिन् । त्यो उतारचढावले दाजुबहिनीबीच बैचारिक द्वन्द्व र सरसल्लाह दुवै बढायो । ‘गरमागरम बहसको अवस्था पनि आयो’, शिवमाया भन्छिन्, ‘कहिले मैले, कहिले दाजुले ‘कन्भिन्स’ गर्ने हुन्थ्यो ।’
राजनीतिक बिमतीले यी माइतीचेलीको तिहारलाई भने कति पनि असर पार्न सकेन । ‘फेरि दाजुसँग धेरैजसो पर्वकै बेला भेट हुन्छ’, शिवमाया भन्छिन्, ‘अरु छलफल त फोनमा पनि हुने हो ।’

आज शिवमाया उप-सभामुखको कुर्सीमा छन्, दाजु विजय त्यही संसदमा सांसद छन् ।

यसपालिको तिहारमा शिवमाया हरिहरभवनको क्वाटरमा हुन्छिन् । माइतीहरुको तिहार रोकिएकाले यो पटक फूलटीका नलगाउने उप-सभामुख डा. शिवमाया तुम्बाहाम्फे भन्छिन्, ‘नेपाली संस्कृतिहरुको हार्दिकतापुर्वक जगेर्ना गरौं, मानिआएको परम्पराभित्रको नराम्रो कुरालाई हटाउँदै जाउँ । सबैमा शुभकामना !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment