Comments Add Comment

बलात्कार आरोपमा नेकपा र कांग्रेसका दुई नेता पक्राउ

१३ कात्तिक, काठमाडौं । प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ कात्तिकमा पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेलले आफू पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य भएको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य भएको बयान दिएका छन् ।

उनीहरुले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग छ । जिल्ला अदालत, ललितपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको तामाङले अनलाइनखबरलाई बताए ।

दिनभर मापसे, रातिमा बलात्कार !

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार घटना भएको दिन गजुरेलले युवतीलाई विहान ११ बजेतिर कुमारीपाटीस्थित पोखरेलको कोठामा ल्याएका थिए । दिनभर दुई जना मात्रै बसेर मादक पदार्थ सेवन गरेका थिए ।

जब राति पोखरेल पनि कोठामा आइपुगे । त्यसपछि तीनै जनाले पुनः मापसे गरेका पीडित र पीडक दुवैले स्वीकारेका छन् ।

अर्धचेत भएको अवस्थामा ज्ञानेन्द्र सुतिसकेपछि सन्देशले अर्को कोठामा लगेर जबरजस्ती गरेको पीडित युवतीले दिएको जाहेरीमा उल्लेख छ ।

तर, सन्देशले पनि इन्कारी बयान दिएका छन् । उनले मापसे गरेको स्वीकारे पनि जबरजस्ती करणी नगरेको दाबी गरेका छन् ।

ज्ञानेन्द्र र पीडितबीच सामाजिक सञ्जालमार्फत चिनजान भएको देखिन्छ भने उनीहरु प्रेम सम्बन्धमा भएको हुनसक्ने म्यासेजबाट देखिने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

यसअघि मंगलबार मात्रै बलात्कार आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राई पनि पक्राउ परेका छन् । उनी आरआर कलेजको स्ववियू सह-सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य थिए ।

यो पनि पढ्नुस्–

बलात्कार आरोपमा आरआर कलेजका विद्यार्थी नेता पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment