Comments Add Comment

हत्याको आरोपमा बाबुछोरा पक्राउ

१३ कात्तिक, राजविराज (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिका-५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज(बुधबार) सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक गरेको हो ।

मृतकका आफन्तले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आफ्नो छोरा हराएको दिएको निवेदन र निवेदकसँग घटनाको विषयमा विस्तृत जानकारीको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई खोजतलास गर्ने क्रममा कञ्चनरुप नगरपालिका-५ स्थित उत्तरतर्फ त्रियुगा नदी किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

घटनामा संलग्न रहेको भनि निवेदकद्वारा नाम खुलाइएका व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका-५ पिप्रा बस्ने श्रीलाल सरदारलाई उदयपुर जिल्लाको कटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीलाल सरदारले बताएअनुसार कात्तिक ५ गते पुनः त्रियुगा नदीको आसपासका ठाउँमा खोजतलास गरेको तर फेला नपरेको र तत्पश्चात भोलिपल्ट सरदारको छोरा विजय सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको छोरा विजयले गाडिएको भनि बयान दिएपछि उक्त स्थानमा खोजतलास गर्दा अजयकुमार मुखियाको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्रियुगा नदीको किनारमा झिङ्गा लागि रहेको ठाउँमा शङ्का मानी खाल्टो खनेर हेर्दा अजयकुमार मुखिया र रमेश सरदारको ज्याकेटलगायत रौं र रगत जस्तो देखिने रातो पदार्थ फेला पारिएको र उक्त बरामद गरिएको समानलाई परीक्षणको लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उक्त घटनामा संलग्न श्रीलाल सरदार र उनको छोरालाई नियन्त्रमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

मृतक अजयकुमार मुखियासहित स्थानीयवासी श्रीलाल सरदारसहित सातजना गाउँका व्यक्ति जङ्गलको बँदेल मार्ने योजना बनाइ शिकार गर्न गएका थिए । सो क्रममा बँदेललाई धान खेतमा करेन्ट लगाएर मार्ने क्रममा अजयको बिजुलीको पासोमा करेन्ट लागि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान छ ।

उनीसँगै गएको बाँकी सबै जना मिलेर मृतकलाई बेपता पारी गाडिएको अशङ्काको आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो घटनमा फरार अन्य व्यक्तिको पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment