Comments Add Comment

कृष्णनगरमा तनाव, सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु

१४ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादले उग्र रुप लिँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाल-भारत सीमा क्षेत्र बढनी घर भइ कृष्णनगरमा चिया पसल चलाउँदै आएका अन्दाजी २० वषर्ीय सुरज पाण्डे छन् । प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी सुरजकुमार श्रेष्ठले पाण्डेको मृत्यु भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘कफ्र्यू ११ बजे लागेको थियो । पौने १२ बजे उनको मृत्यु भएको हो ।’

पीडित परिवारले अहिलेसम्म पाण्डेको शव उठाउन मानेका छैनन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एक अधिकृतका अनुसार दिउँसो दुईतीन सयको संख्यामा रहेका स्थानीयले पाण्डेको शव घेरेर राखेका थिए । अहिले त्यो संख्या ५० को हाराहारीमो छ ।

मृतकका परिवार, जनप्रतिनिधि र स्थानीय बुद्धिजीविको रोहवरमा दुई पक्षीय छलफल भइरहेको छ ।

एसपी भन्छन् – प्रहरी गोली चलाएको होइन

कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीप शमशेर राणाले पाण्डेको मृत्यु कसरी भयो भन्नेबारे स्पष्ट भइनसकेको बताए ।

‘हाम्रो टोलीले हवाइ फायर गरेभन्दा डेढ सय मिटर पर घटना भएको छ’, एसपी राणाले अनलाइनखबरसँग भने, ‘कुनै गोली उछिटि्टएर लाग्यो वा टाढाबाट लाग्यो भन्ने खुलिसकेको छैन ।’

उनले पाण्डेको पोष्टमार्टम गरेपछि आउने रिपोर्टबाट मात्रै गोली प्रहरीको हो/होइन भन्ने यकिन हुने बताए । ‘गोली प्रकृति हेरेर त्यो विषय थाहा हुन्छ’, उनले भने ।
कतिपयले घटनामा हिंसा भड्काउन खोज्नेले घुसपैठ गरेको हुनसक्ने आशंका गरेका छन् ।

तर, जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका एक अधिकारीले भने कर्फ्यू लागेपछि खटिएका सशस्त्र प्रहरी बलका अधिकृतले चलाएको गोली पाण्डेलाई लागेको हुनसक्ने रिपोर्ट प्राप्त भएको बताएका छन् ।

गत वर्ष पनि भएको थियो विवाद

स्थानीयवासीका अनुसार कृष्णनगरमा यस्तो तनाव बढ्दो छ । गत वर्ष दुर्गाको मूर्ति विर्सजनका क्रममा दुई पक्षबीच झडप भएको थियो ।

यो पटक लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा विवाद भयो । लक्ष्मीपूजाको मूर्ति विसर्जनका लागि झण्डिनगरको रुट प्रयोग गरेका थिए । स्थानीयका अनुसार बुढा पोखरीसम्म पुग्न यो सबैभन्दा छोटो बाटो हो ।

तर, स्थानीयको एक पक्षले त्यस क्षेत्रमा मदरसा भएको भन्दै अर्कै बाटो प्रयोग गर्न सुझाए । विगतमा मूर्ति विसर्जन गर्न जाँदा मदरसामा रंग फ्याकिएको उनीहरुको गुनासो छ ।

विवाद भएपछि प्रहरीले बुधबारको मूर्ति बिसर्जन कार्यक्रम रोकेको थियो । बुधबार राति नै दुबै पक्षबीच छलफलका लागि पहल पनि गरेको थियो तर सफल भएन ।  बिहीबार विहानैबाट तनाव सुरु भयो ।

प्रदर्शनकारीले कृष्णनगरमा रहेको ट्राफिक प्रहरी पोष्ट पनि जलाइदिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले कर्फ्यू आदेश जारी गरेको थियो ।

कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा लगाइएको कर्फ्यू अझै जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment