Comments Add Comment

६ महिना सिरिजले धान्यो, अब ६ महिना केले धान्ला ?

वि.सं २०७६ सालको असोज महिनासम्म चलचित्रको व्यापारिक रिपोर्ट हेर्दा, विशेषगरि सिरिज र ब्रान्ड नै चलेको देखिन्छ । ‘जात्रै जात्रा, कबड्डी कबड्डी कबड्डी र छ माया छपक्कै’को व्यापारले यही कुरा देखाएको छ । ६ महिनामा ३ वटा चलचित्र सुपरहिट हुँदा अबको ६ महिना नेपाली चलचित्रको व्यापार के होला भन्ने विश्लेषण गर्न आवश्यक छ ।

कात्तिकको दोश्रो सातामा चलचित्र ‘पोई पर्यो काले’ रिलिज भयो । यो चलचित्रको व्यापार सुखद छ, तर यसले लगानी उठाउन अझै केही हप्ता राम्रो कमाई गर्नुपर्छ ।

नेपाली चलचित्रका निर्माता पौष र माघमा खासै चलचित्र रिलिज गर्न चाहँदैनन् । यसैले, यो बर्ष पनि पौष र माघ महिनामा चलचित्रको घोषणा खासै भएको छैन । मंसिरमा भने आधा दर्जन चलचित्र रिलिज हुँदैछन् ।

यो बर्ष दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ फागुणको ९ गते रिलिज हुँदैछ । यो चलचित्रको कथावस्तुले दर्शक तान्ने अपेक्षा गरिएको छ ।

यस्तै, नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ पनि यो बर्षको अपेक्षित चलचित्र हो । यो चलचित्र फागुणको २३ गतेबाट रिलिज हुँदैछ । ‘म यस्तो गीत गाउँछु’को सिरिज भएकाले पनि दर्शकले यो चलचित्र प्रतिक्षा गरेका छन् । सुदर्शन थापाको निर्देशनलाई दर्शकले यसअघि पनि विश्वास गर्दै आएका छन् ।

यही मितिमा रिलिज गर्ने तयारी गरिएको नायक विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ्ग’ पनि यो बर्षको प्रतिक्षित चलचित्र हो । यो चलचित्रलाई विशाल सापकाटाले निर्देशन गरेका हुन् ।

शिवहरि पौडेल निर्देशित चलचित्र ‘लक्का जवान’लाई पनि यो बर्षको अर्को आशा गरिएको चलचित्रको रुपमा हेर्न सकिन्छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको चलचित्रले दर्शकको चाप हलमा बढाउन सक्छ ।

निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति यही बर्षलाई तोकेका छन् । रिलिज दिन नै नतोकेपनि यो चलचित्र यदि यो बर्ष रिलिज भएको खण्डमा यसले पनि दर्शकलाई हलसम्म तान्न सक्छ ।

यही बर्ष नै रिलिज हुने भनिएका ‘प्रेमगीत ३, धुपौरे’ लगायतका चलचित्रले पनि दर्शक तान्ने अपेक्षा गरिएको छ । यी बाहेक अन्य थुप्रै चलचित्र यो बर्ष रिलिज हुँदैछन् । माथि उल्लेखित चलचित्रहरु स्टार कलाकार, ब्रान्ड ब्यानर र सिरिजमै केन्द्रित छन् । यी बाहेक अन्य चलचित्रले व्यापारिक रुपमा सफलताको झन्डा गाड्न सकेको खण्डमा चलचित्र क्षेत्रका लागि पक्कै पनि फाइदाजनक हुनेछ ।

आधा बर्ष सिरिज र ब्रान्डले धानेको चलचित्र क्षेत्रलाई अबको आधा बर्ष केले धान्ला ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment