Comments Add Comment

नेकपाले उपनिर्वाचनमा नखट्ने कार्यकर्ताको अभिलेख राखेर कारबाही गर्ने

१४ कात्तिक,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनमा नखट्ने र असहयोग गर्ने नेता कार्यकर्ता जो भए पनि कडा कारवाहीको चेतावनी दिएको छ ।

उपनिर्वाचन अभियानमा खटिने कार्यकर्ताको अभिलेख राख्नसमेत मातहत कमिटीहरुलाई सर्कुलर गरिएको छ ।

नेकपा प्रदेश ३ कमिटीले कार्यकर्ताका लागि जारी गरेको सर्कुलरमा निर्वाचन अभियानमा खट्ने कार्यकर्ताको अभिलेख राख्ने र कमिटीले मूल्यांकनको विषय बनाउनुपर्ने भनिएको छ ।

सुर्कुलरमा भनिएको छ, ‘अभियानमा नखट्ने,पार्टी निर्देशनको अवज्ञा गर्ने र असहयोग गर्ने जो कसैलाई पनि पार्टीले छुट दिनेछैन । कडा कारबाहीको विषय बन्नेछ ।’

पार्टीभित्रका आन्तरिक मनमुटाव र असमझदारीका विषयहरु भए तत्काल समाधान गर्न र तत्काल समाधान हुन नसक्ने कुनै विषय बाँकी रहेमा निर्वाचन अवधिभर चर्चा गर्न नपाईने सर्कुलरसमेत नेकपाले कार्यकर्तालाई पठाएको छ ।

नेकपाले उपनिर्वाचनका बेला सरकार, पार्टी र नेतृत्वबारेमा नकारात्मक टिप्पणी गर्नसमेत रोक लगाएको छ । बिरोधीले नकारात्मक टिप्पणी गरेमा तत्काल प्रतिवाद गर्नसमेत कार्यकर्तालाई निर्देशन दिइएको छ ।

सर्कुलरमा उपनिर्वाचनका बेला पार्टी सदस्य, समर्थक र सहयोगीहरुबाट चन्दा उठाइ निर्वाचन खर्चको बन्दोबस्न गर्नुपर्ने र बिखतको अनुभवलाई समेत ध्यानमा राखेर खर्चमा मितव्ययतिता अपनाउन समेत भनिएको छ ।

प्रदेश ३ अन्तर्गत भक्तपुरमा प्रदेशसभा र रामेछापको उमाकुण्ड गाउँपालिका, काठमाडौंको दक्षिणकाली र चितवनका खैरहनीका दुई तथा भरतपुर महानगरपालिकाको एक वडामा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचन मिनी जनमत संग्रहसमेत भएकाले पार्टीले यो अभियानमा सबै कार्यकर्तालाई एकजुट भएर होमिन निर्देशन दिएको प्रदेश कमिटी सचिव आनन्द पोखरेलले बताए ।

उनले निर्वाचनको बेला दायाँबायाँ गर्ने नेता कार्यकर्ता जो भए पनि मुख नहेरी कठोर कारबाही गरिने समेत बताए ।

बिहिबार बसेको प्रदेश कमिटी सचिवालय बैठकले निर्वाचन परिचालन तथा तयारी समिति समेत गठन गरेको छ ।

उपनिर्वाचनको कामलाई व्यवस्थित गर्न गठित सचिवालयमा प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेलसहित कृष्ण राई, रुकु चौलागाई, यमवहादुर परियार, बचन देउजा र डिपी ढकाल छन् ।

प्रदेश ३ मा उपनिर्वाचन हुन लागेकामध्ये खैरहनी नगरपालिकाका दुई वडा बाहेक अरु सबै ठाउँमा बिगतमा तत्कालीन एमालेका उम्मेदवारले जितेका थिए ।

बिगतमा जितेका ठाउँ सुरक्षित राख्दै कांग्रेसले जितेका ठाउँमा पनि नेकपा उम्मेदवार जिताउन सर्कुलर गरिएको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment