+
+
Shares

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

रासस रासस
२०७६ कात्तिक १५ गते ७:२४

१५ कात्तिक, म्याग्दी । जिल्लाको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२, बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् ।

बेनी नगरपालिका–८, कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री खरिद गरी सात जना बाढीपीडितलाई प्रदान गरेका हुन् ।

१४ वर्षीय इदान पुनको नेतृत्वमा खेलिएको देउसीभैलोबाट संकलन भएको रकमबाट दाल, चिनी, चियापत्ती, बिस्कुट, साबुनलगायतका सामान खरीद गरेर बाढीपीडितहरुलाई प्रदान गरेका बाढीपीडित राहत संकलन एवं व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजालले जानकारी दिए ।

गत असोज ४ गते राति कोटखोलामा आएको बाढीले स्थानीयवासी दीलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, माया परियार, रश्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पुर्याएको थियो । बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुनर्निर्माणको काम भने सम्पन्न भइसकेको छ ।

बाढीबाट क्षति पुगेको व्यक्तिहरुको पुनःस्थापनाका लागि पहल भइरहेको र उनीहरुलाई घर निर्माणका लागि जग्गाको खोजी भइरहेको बताइएको छ । पूर्णरूपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् । उनीहरुको सहयोग र व्यवस्थापनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गठन गरिएको बगरफाँट बाढीपीडित आर्थिक सङ्कलन तथा व्यवस्थापनको खातामा अहिलेसम्म रु तीन लाख ५२ हजार ३०० संकलन भएको संयोजक रिजालले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?