Comments Add Comment

जनकपुरमा साहित्यिक महोत्सव, गंगासागर पोखरीमै स्टेज

१५ कात्तिक, जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाम ‘नेपाल साहित्यिक महोत्सव’ हुने भएको छ । कात्तिक २२, २३ र २४ गते हुने महोत्सवमा साहित्यसँगै राजनीति र विकासका एजेण्डामा चर्चा हुनेछ ।

आयोजककाअनुसार महोत्सवमा ११ वटा सत्र राखिनेछ, जसमा मधेशमा विभिन्न कालखण्डमा भएको राजनीतिबारे पत्रकार, राजनीतिज्ञ र कानुन व्यवसायीबीच संवाद गरिनेछ । ‘स्वाभिमान, सम्मान र अभिमान’ नाम दिएको सत्रमा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, पत्रकार किरण नेपाल, प्रदेश सांसद रानी शर्माको सहभागिता रहनेछ भने सत्रको मोडरेटर नेपाली कांग्रेस नेता गगन थापा रहनेछन् ।

यस्तै प्रदेशका मुख्य शहरहरु जनकपुरधामसहित राजविराज र वीरगञ्जका मेयरबीच छलफल हुनेछ । स्थानीय तहको विकासमा छलफल गराउन भारतमा राष्ट्रपति पुरस्कार पाएका गाउँपञ्चायत प्रमुखलाई पनि बोलाइएको छ ।

महोत्सव आयोजक बुकवर्म फाउण्डेशनका निर्देशक अजित बरालले सीमासम्बन्धी सम्वाद पनि हुने बताए । मैथिली साहित्यमा उच्च योगदान दिने व्यक्तिहरुको श्रद्वाञ्जली र सम्मान विषयमा पनि चर्चा गरिने उनको भनाइ छ ।

गंगासागर पोखरीमै स्टेज बनाइने

साहित्यिक महोत्सवका कार्यक्रमहरु जनकपुरधामको विभिन्न ठाउँमा आयोजना गर्ने तयारी छ । गंगासागर पोखरी, रेल्वे स्टेशन, गोपाल धर्मशाला, जानकी मन्दिर, विवाह मण्डपमा महोत्सवका सत्रहरु सञ्चालन गरिनेछ ।

गंगासागर पोखरीमा कविता वाचन राखिनेछ । गंगासागर पोखरीको पानीमै बनाइएको स्टेजमा कविहरुले कविता वाचन गर्ने नेपाल भ्रमण बर्ष २०२० प्रदेश २ का पर्यटन प्रवर्द्धन समिति संयोजक मनिष झाले जानकारी दिए ।

यसअघि कात्तिक १७ र १८ गते निर्धारण गरिएको महोत्सव चाडपर्वलाई मध्यनजर गरेर एक सातापछि सारिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment