Comments Add Comment

विवादमा मुछिए कोहलपुरका डीएसपी शाही

छानविन थालियो

१५ कात्तिक, काठमाडौं । इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज हेमबहादुर शाही विवादमा तानिएका छन् ।

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही आफैं छानविनको दायरामा तानिएका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि अनुसन्धान थालिएको छ ।

तर, तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जना पक्राउ परेपछि अडियो सार्वजनिक भएकाले दुवै पक्षमाथि शंका गर्नुपर्ने देखिएको ती अधिकृतले बताए ।

शुक्रबार दिउँसो तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेर बरामद हतियार शाहको नभएको दाबी गरेका थिए । उनले हतियारको फिंगर प्रिन्ट जाँच गर्न माग गरेका थिए ।

तर, प्रहरी अधिकृत भने हतियार शाहकै भएको विषयमा दृढ छन् । प्रहरी प्रधान कार्यालय ती अधिकृतले भने, ‘हालसम्म प्राप्त विवरण अनुसार हतियार शाहकै भएको देखिन्छ ।’

अडियोको विषयमा चाहिँ शाहीमाथि कारबाही हुनसक्ने देखिएको छ । ती अधिकृतका अुनसार हतियार बरामद प्रकरणको अनुसन्धान सकिएपछि डीएसपी शाहीलाई प्रदेश प्रहरी वा प्रहरी प्रधान कार्यालयमा तानेर विस्तृत अनुसन्धान गरिनेछ ।

‘अहिल्यै तान्दा मुद्दा प्रभावित हुनसक्छ । हतियार बरामद प्रकरण र अडियोको कुरा छुट्टाछुट्टै विषय हुन्’, ती अधिकृतले भने ।

बिहीबार दिउँसो शाहीसँगै प्रहरीले दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगरलाई पनि पक्राउ गरेको थियो ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाएर लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल बरामद भएको डीएसपी शाही बताउँछन् ।

उनले अनलाइनखबरसँग भने, ‘मेड इन यूएस लेखिएको अटोमेटिक पेस्तोल एउटा र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित म्यागजिन बरामद भएको थियो ।’

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

नाजायज किसिमले कुनै डिल गरेको छैनः शाही

विवादको विषयमा प्रतिक्रया दिँदै शाहीले नाजायज किसिमले आफूले कुनै डिल नगरेको दाबी गरेका छन् ।

उनले भने, ‘भोलि ल्याब टेस्ट होला । अन्य कुरा होला । म हो/होइन, सनाखत होला । मेरो बारेमा चरित्र हत्या गर्ने किसिमले आएको छ भने साइबर क्राइम अन्तरगत मुद्दा दर्ता पनि होला ।’

उनले हतियार बरामद पनि रितपूर्वक गरिएको बताए ।

‘हतियार आफ्नो होइन भन्नेमा त्यति धेरै विश्वास हो भने त्यसको पनि परीक्षण गरौंला’, उनले अनलाइनखबरसँग भने, ‘गाडीबाट हतियार बरामद भएका वेलाका फोटो, भिडियो जस्ता प्रमाण पनि सुरक्षित छन् ।’

उनले पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना ऐनअनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment