Comments Add Comment

हिरो–हिरोइन नचाउने कविराजको काइदा

नाच्न जान्नेलाई आँगन टेँडो न बाङ्गो

उनको ड्युटी नै गजब छ, नाच्ने । नाचेरै नाम राखेका छन् । नाचेरै दाम पाएका छन् । नाच उनको लागि फगत मनोरञ्जन होइन । कर्म हो ।

यही कर्म गरेर उनले शहरमा आफुलाई चिनाएका छन् । सिनेमाका कुनै हिरो–हिरोइन बाँकी छ उनले ननचाएका ?

म्युजिक भिडियोको कुरा छाड्नुहोस् । देश–विदेशको कन्सर्टको कुरा पनि छाड्नुहोस् । जहाँपनि, जहिलेपनि उनी छाइरहेका छन् । यस्तो लाग्छ, उनको अनुपस्तिथीमा सिनेमाको गीतमा कसैको जादु नै चल्दैन ।

यति धेरै बखान गरिसकेपछि त सबैले लख काटिहाल्छन्, कुरा कविराज गहतराजको हुँदैछ भनेर । कुरा कविराज गहतराजकै हो । धेरै विशेषण जोड्न पर्दैन, ‘कोरियोग्राफर’ भनिदिए पुग्छ । वस् यही विशेषण झुन्ड्याएर उनी यन्त्रवत् चलायमान् छन् । कहिले सुटिङ स्पट त कहिले स्टेजले उनलाई निम्तो गरिरहन्छ । सास फेर्ने फुर्सद भए पो !

केही कालो वर्ण, वटुलो तर हँसमुख चेहेरा । पुट्ट हुँदै गएको पेट । ब्रुसकट कपाल । नेपालीलाई पुग्ने औसत उचाई । आवरणमा देखिने कविराज यत्ति हुन् । तर, कविराज यतिमात्र होइनन् । उनी नरम छन् । मनका कोमल छन् । इमानको गाँस टिप्छन् । नानाथरी आकंक्षा छैन । मात्तिएका छैनन् । हरदम सोच्छन्, ‘कसैको चित्त दुखाउन नपरोस् ।’

तर, सबैको चित्त बुझाएर साध्य हुन्छ र ?

भनेको सेड्युलमा काम गर्न सकिदैन । कतिपय काम थाँती रहन्छ । कतिपय काममा तालमेल मिल्दैन । निर्माता÷निर्देशकहरु रिसाउँछन् । थर्काउँने शैलीको फोन आउँछ, ‘जहाँ छौं, त्यहीबाट उठाएर लान्छौं ।’ अक्सर गीत छायांकनको सेड्युल जुधेपनि उनको तानातान हुन्छ । यस्तो धेरै पटक भएको छ ।

‘तँ मेरो सेटमा आइनस् भने इन्डष्ट्रीबाट हटाइदिन्छु’, ‘तेरो खुट्टा भाँचिदिन्छु’, ‘सेटबाटै उठाएर लान्छौं’ यस्तै–यस्तै गाली आउथ्यो । कविराज जवाफ फर्काउँथे, ‘ठिक छ उठाएर लानुहोस् । म त काम गर्ने हो । जहाँ गएपनि काम गर्न पाए भयो ।’

कविराजले जुन गाली खान्थे, त्यो गाली मात्र थिएन । परोक्ष त त्यो ताली थियो । उनको काम, कला र मागको नतिजा थियो । यदि उनी नचलेका भए, बजारमा माग नभएका भए, किन कसैले आफ्नो रक्तचाप बढाउँथे ?

नृत्य सिक्ने पैसा नभएपछि

कविराजको पूख्यौंली थलो काठमाडौं मच्छेगाउँ । खानदानी व्यवसाय सुनचाँदीको । तर, कविराजले पूर्खालाई पच्छ्याएनन् । उनी नाचगानमा मग्न हुन्थे ।

टोलमा वा भोजभत्तेरमा गीत बज्दा पनि उनको शरीरका अवयवहरु यसै–यसै नाचेजस्तो लाग्थ्यो । उनी नाच्थे मज्जाले । फाइटमा पनि उत्तिकै रुची । एक्सन फिल्म त कति हेरे, कति । मार्शल आर्ट सिक्थे । कुरा सानै बेलाको हो ।

दशैं तिहारमा टोलका केटाकेटी मिलेर नाच देखाउदै हिँड्थे । अक्सर नाच्नका लागि टोली तयार गर्ने काम कविराजको जिम्मामा हुन्थ्यो । यसरी नृत्यमा उनको लगाव बढ्दै गयो ।

एसएलसी दिइसकेपछि ‘कल्चर’ (नृत्य प्रशिक्षण केन्द्र) खोल्ने विचार आयो । यसका लागि नृत्य प्रशिक्षणको प्रमाणपत्र चाहिन्थ्यो । प्रमाणपत्रकै लागि नाच सिक्ने निधो गरे ।

नाचको लागि प्रशिक्षण लिन नजिकका डान्स सेन्टर पुगे । भर्ना शुल्क तीन सय । मासिक शुल्क पाँच सय । घरमा आएर दाईलाई भने, ‘नाच सिकौं भनेको शुल्क जम्मा आठ सय लाग्नेरहेछ ।’

दाईले थर्काए, ‘मेरो कलेजको शुल्क जम्मा दुई सय छ, तँलाई नाच्नका लागि चार सय, पाँच सय ?’

सतुंगलमा आमाको पोतेको व्यापार थियो । फुर्सदको समयमा पसल हेर्ने जिम्मा उनकै थियो । आमालाई ‘घुम्न निस्कन्छु’ भन्दै डान्स सेन्टरमा पुगे । पकेट मनीबाट बचाएको तीन सय रुपैयाँ थियो । त्यही पैसाले भर्ना गरे । मासिक शुल्क त पछि तिर्दै गरौला भन्ने लाग्यो ।

३ बजेदेखि ४ बजेसम्म नृत्य कक्षा थियो । उनी सोही समय पसलबाट हराउथे । एक घण्टामा टुप्लुक्क आइपुग्थे । आमाले हप्काउँथिन्, ‘दिउँसो–दिउँसो कहाँ जान्छन् ?’

कविराज छल्थे, ‘यत्तिकै घुम्न । कतै गएको छैन ।’

नाच्दा–नाच्दै गुरु

नृत्य प्रशिक्षण लिन थालेपछि पो थाहा भयो, नृत्य चानचुने कुरा होइन रहेछ । नृत्युको अनेक शैली र तौर–तरिका हुने रहेछ । विधी–विधान हुने रहेछ । मुभमेन्ट, ताल र विट फरक हुने रहेछ । साल्सा, ब्रेक, हिपहप, कल्चरल थुप्रै थरीका नृत्य हुने रहेछ । कल्चरलमै पनि कौडा, मारुनी, झ्याउरे, देउडा, थाली डान्स थरीथरीका शैली हुने रहेछ ।

एक महिना नृत्य सिकेपछि शुल्क बुझाउनुपर्ने भयो । पकेट मनीले पाँच सय शुल्क बुझाउन नपुग्ने । आखिरमा करै लाग्यो, आमालाई भन्न ।

यतिबेलासम्म उनमा नृत्यको भोक अरु बढेको थियो । निर्धारित समयमा सिकेको नृत्यले उनलाई पुग्दैनथ्यो । थप कक्षाहरुमा पनि उनी सिक्थे । उनको दिन त्यही वित्न थाल्यो । अन्ततः एकदिन गुरुले भने, ‘एक, दुई वटा कक्षा तिमीले पनि लिने गर ।’

कविराज आफु पनि सिक्दै र सिकाउँदै पनि गर्न थाले । अर्को महिना वित्यो । शुल्क बुझाउने बेला भयो । घरमा गएर दाईलाई पैसा मागे । दाइको जवाफ आयो, ‘तँ अब सिकाउन पनि थालेको होइन ? सिकाउन थालेपछि के को शुल्क तिर्नुप¥यो ?’

उनले गुरुलाई भेटे । गुरुले भन्यो, ‘तिमीले यो महिनाको पैसा दिनु, अर्को महिनादेखि पर्दैन ।’ यति भएपनि कविराजलाई राहत भयो । उनी हिँड्नै लागेका थिए । गुरुले रोक्दै भने, ‘भो, भो यो महिनाको पनि परेन । म कुरा गर्छु ।’

धरानको धङ्धङ्ती

त्यही डान्स सेन्टरबाट लामो समय नृत्य प्रशिक्षण गराइसकेपछि धरानमा नृत्य प्रशिक्षण गराउने अफर आयो । रोशन राई नामक साथी थिए, उनैले धरानमा डान्स सेन्टर खोल्दै थिए । कविराज धरान हान्निए । घर छाडेर उनी पहिलो पटक काठमाडौंबाहिर जाँदै थिए ।

धरानमा पुग्दा डान्स सेन्टर सुरु भएकै थिएन । धेरै कुरा मिलाउनुपर्ने थियो । कविराजको स्वभाव कस्तो भने, कामलाई अधकल्चो नछाड्ने । केही समय पर्खेरै भएपनि उनी डान्स सिकाउने भए । उनीसँगै एक अर्का प्रशिक्षक पनि त्यहाँ थिए, रुबिन डंगोल । उनी कल्चर नृत्यमा पोख्त । उनीसँग कल्चर गीतको क्यासेट पनि पर्यापत हुने । उनकै क्यासेट चोरेर कविराजल कौडादेखि मारुनीसम्म नृत्य अभ्यास गर्न पाए ।

धरानको ‘गरिमा डान्स सेन्टर’ राम्ररी चल्न थाल्यो । त्यहाँ नृत्य सिक्नेहरु विभिन्न प्रतियोगितामा विजेता भए । नृत्यको फरक माहौल बन्यो । त्यहीबेला कविराजले उत्कृष्ट पूर्वाञ्चल कोरियोग्राफर अवार्ड पनि पाए । कविराज त्यसबेला विद्यालयमा पनि नृत्य सिकाउँथे । एक हिसाबले धरानमा पनि उनको साम्राज्य विस्तार हुँदै थियो ।

यत्तिकैमा कविराज काठमाडौं फर्किए । उनलाई अरु धेरै सिक्नु र जान्नुछ भन्ने लाग्यो । उनी भारतमा गएर थप प्रशिक्षण लिन चाहन्थे । यसका लागि दाईले पैसाको जोहो पनि गरिदिएकै थिए । कविराज अब भारत जाने सुरसारमा लागे ।

अनि बाटो मोडियो

नृत्य सिक्नका लागि भारत जान पाइला के उचालेका थिए, एक व्यक्तिको गणितिय वचनले उनको पाइला रोकियो ।

ति थिए, कुमार एन्ड कुमार । द्वन्द्व निर्देशक । उनैले यसरी जीवनको हिसाब–किताब सिकाइदिए, ‘हेर, तिमी भारत गएर पाँच बर्ष सिक्नेछौ । फर्केर आएपछि तिमीलाई यहाँ स्थापित हुन अरु पाँच बर्ष लाग्छ । १० बर्ष यसै गयो । अहिलेको उमेरसँग त्यो दश बर्ष जोडेर हेर, तिमी कुन उमेरको हुनेछौ ?’

कविराजलाई उनको वचन निकै घतलाग्यो । सुनिरहे । ‘बरु, यसो गर’ उनले सुझाए, ‘भारत जानुभन्दा आजदेखि नै तिमी यहीँ बसेर संघर्ष गर ।’

कुरा मनासिव थियो । कविराजले त्यसै गरे ।

उनी नेपाल टेलिभिजनबाट एक नृत्य प्रतियोगिता सम्बन्धी कार्यक्रमको खाका बनाउन थाले । यसमा उनलाई आफ्नो दाईको साथ छँदै थियो । नृत्य प्रतियोगिता सञ्चालन गर्दा २०–३० लाख रुपैयाँ लाग्ने अनुमान निस्कियो । प्रथम हुनेलाई एक लाख नगद दिने कुरा भयो । प्रतियोगिताको एकजना प्रशिक्षक आफै बस्ने र बाँकी दुई जना अरुलाई प्रस्ताव गर्ने निधो भयो । उनीहरुले कार्यक्रमको मोटामोटी खाका तयार गरे । पोस्टर छापे । खर्चको जोहो गर्न थाले ।

तर, त्यसबर्ष नेपाल टेलिभिजनको कुनै सेड्युल बाँकी थिएन ।

अब ६, ७ महिना यत्तिकै बस्नुपर्ने भयो, अर्को आर्थिक बर्ष कुरेर । यत्तिका अवधी के गर्ने त भन्दा भन्दै उनलाई ‘फूलको थुँगा’ भन्ने चलचित्रबाट अफर आयो, नृत्य निर्देशकको । करिष्मा मानन्धर, उत्तम प्रधान आदि सम्मिलित थिए चलचित्रमा । उक्त चलचित्रमा नृत्य निर्देशकको जिम्मा कमल राई लिएका थिए । संयोगवस् त्यही बेला उनी दार्जिलिङ गए । ठाउँ खाली भयो । कविराजले सोही चलचित्रको एउटा गीतमा कोरियोग्राफी गर्ने भए ।

तर, उक्त चलचित्र नबन्ने भयो ।

यत्तिकैमा अर्को चलचित्र बन्ने भयो, इतिहास । उक्त चलचित्रको तीनमध्ये दुई गीतको कोरियोग्राफी कविराजले गर्नुपर्ने भयो । टेलिभिजनमा कार्यक्रम गर्ने कुरा थाँती रह्यो । त्यसमा पनि एक, डेढ लाख खर्च भइसकेको थियो ।

इतिहास चलचित्रको पहिलो गीत नै कविराजको भागमा प¥यो । उक्त चलचित्रको वितरक गोपिकृष्ण मुभिजका मालिक उद्वव पौडेल थिए । कविराजले कोरियोग्राफी गरेको गीत पहिलो पटक उनैले हेरे । त्यसपछि पौडेलले सोधे, ‘को हो यो कविराज भनेको ?’

कविराजको बारेमा चासोपूर्वक सुनेपछि उनले भेट्न बोलाए । गोपिकृष्ण मुभिजले त्यसैबेला एकसाथ सात वटा चलचित्र निर्माण गर्दै थियो । पर्खिवसे, सुन्दर मेरो नाम लगायतका । ‘सुन्दर मेरो नाम’को पनि एक मोर्डन प्यार्टनको गीतमा कविराजले मौका पाए । अरु गीत शान्त नेपालीले कोरियोग्रफी गर्दै थिइन् ।

तर, शान्त नेपाली अर्कै चलचित्रमा व्यस्त भइन् । कोरियोग्राफरको खाँचो भयो । बजारमा चलेका जति कोरियोग्राफर कोही व्यस्त थिए भने कसैसँग निर्देशकको मनमुटाव थियो । अब को छ त कोरियोग्राफर ?

नाम आयो, कविराज गहतराजको ।

‘त्यो नयाँ भाई छ, उसैले जस्तो गर्छ, गरोस् । उनैलाई बोलाउँ’ निर्देशक÷निर्मातावीच यस्तो सल्लाह भयो ।

कविराजले यतिबेलासम्म क्यामेरा, फ्रेम, एंगलबारे धेरथोर ज्ञान लिइसकेका थिए । जतिसक्दो उनले राम्रो गर्ने प्रयास गरे । भयोपनि त्यस्तै । अन्ततः एकपछि अर्को चलचित्रको ताँती लाग्न थाल्यो । कुशुमेरुमाल–२ सँगै अरु चलचित्रमा काम गर्न थाले ।

तीन  वटा चलचित्र गर्दा गर्दै रेखा थापाले बोलाइन् । छवी ओझासँग भेट भयो । त्यसपछि नसिब आफ्नो, कहाँ छौ कहाँ जस्ता अनगिन्ती चलचित्रमा उनी कोरियोग्राफी गर्न थाले । एकसाथ चारवटा चलचित्रमा काम गर्नुपर्ने दिन पनि आयो ।

जबकी यतिबेलासम्म उनको कामको नतिजा देखिएकै थिएन । कुनैपनि चलचित्र सार्वजनिक भइसकेको थिएन । तर, ‘राम्रो काम गर्छ’ भन्ने मौखिक प्रचारले उनलाई बेफुर्सदिला बनाइदियो ।

त्यसपछि भने कविराजको रफ्तारमा ब्रेक लागेको छ्रैन । उनी एकपछि अर्को चलचित्रमा व्यस्त छन् । म्युजिक भिडियोले उत्तिकै पच्छ्याउँछ । देश–विदेशको मन्चले पनि उत्तिकै आमन्त्रण गर्छ । कता भ्याउनु, कता नभ्याउनु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment