Comments Add Comment

उपन्यासका पात्र पछ्याउँदै बेलायततिर सरुभक्त

पोखरा । अमर प्रधान, युवराज गिरी, श्याम थापा सपनाको देश जाँदै थिए । त्यो सपनाको देश हो, अमेरिका । देशका अनेकन समस्याबाट मुक्ति र दरिलो भविश्यको सपना देखेर अमेरिका उडेका यी युवाहरुको परिचय लण्डनमा हुन्छ । लण्डनको पीटर्सबर्ग जेम्स ए जनसन एयरपोर्टमा भएको ट्रान्जिटका बेला उनीहरुको परिचय हुन्छ । लण्डन एयरपोर्टमा भएको चिनजानले अमेरिका पुगेपछि उनीहरुमा मित्रता झ्याङ्गिन्छ ।

ती युवा सपनाको देश अमेरिका पुग्ने नेपालीका प्रतिनिधि हुन् । ती युवा अमेरिकामा बाँचेका नेपालीको बास्तविक जीवनका काल्पनिक पात्र हुन् । अमर, युवराज, श्याम लगायत सरुभक्त लिखित प्रतिगन्धका मुख्य पात्र हुन् । उनीहरुले अमेरिकामा बाँचेको, देखेको र भोगेको जीवनकै परिवरी छ, सरुभक्तले लेखेको उपन्यास प्रतिगन्ध ।

२०६१ सालमा अमेरिका जाँदा यही विमानस्थलमा उपन्यास सरुभक्तको ट्रान्जिट थियो, प्रतिगन्धका प्रमुख पात्रको चिनापरिचय भएको थियो । लण्डनको त्यही विमानस्थलदेखि अमेरिकासम्म उनीहरुको कथालाई सरुभक्तले उपन्यासमा समेटेका छन् ।

राष्ट्रकवि माधव घिमिरेको गीति नाटक मालती मंगले प्रदर्शन गर्ने टोलीनेता बनेर अमेरिका पुगेका सरुभक्तले अमर, युवराज, श्यामजस्ता पात्रहरुको परिवारिक कलह र विगठनलाई यात्राको १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा समेटेका छन् । फैलिरहेको विश्व आतंकवाद र भिन्न खालको डायस्पोराको कथालाई उनेर उपन्यास निकाले सरुभक्त पात्रहरुको परिचय भएको ठाउँ पछ्याउँदै जाने भएका छन् ।

‘म अमेरिका यात्रामा जाँदा लण्डनको जुन विमानस्थलमा ट्राज्टि भयो, त्यही प्रतिगन्ध उपन्यासका प्रमुख पात्रहरुको परिचय भएको थियो । लण्डनको त्यो एयरपोर्टमा ट्रान्जिट नभएको भए कथाले अर्कै मोड लिन्थ्यो,’ सरुभक्तले भने, ‘त्यसैले बेलायत मेरा लागि विशेष ठाउँ हो । तिनै पात्रहरुलाई सम्भिmँदै म त्यही विशेष ठाउँमा जान लागेको छु ।’

कात्तिक २३ गते बेलायतमा हुने कार्यक्रममा जान लागेका सरुभक्तले यो यात्रालाई साहित्यिक तीर्थयात्रा भनेका छन् । ‘म यो यात्रालाई साहित्यिक तीर्थ यात्रा भन्छु । जहाँ संसारकै महान, महान साहित्यकार, दार्शनिक र वैज्ञानिकहरुको जन्म भएको थियो भने मेरा उपन्यासका पात्रहरुको कथा त्यहीबाट सुरु भएको थियो,’ सरुभक्तले भने, ‘म यो महिना रारादेखि बेलायतसम्मको साहित्यिक तीर्थ यात्रामा हुने छु ।’ कात्तिक १ गतेदेखि ६ गतेसम्म १५ जना साहित्यकारहरुसहित कार्यक्रम गर्न रारा पुगेका थिए ।

प्रख्यात साहित्यका जर्ज बनार्ड सा, भिक्टोरियन युगका प्रसिद्ध अंग्रेजी उपन्यासकार चाल्स डिकीन्स, प्रशिद्ध नाटककार सेक्सपियरदेखि दार्शनिक तथा वैज्ञानिक न्युटन, रुसोजस्ता मुर्धन्य व्यक्ति जन्मिएको थलो आˆना लागि एउटा साहित्यिक तीर्थस्थल नै भएको सरुभक्तले बताए । ‘आˆनो साम्राज्य फैलाएर शक्ति आर्जनमात्रै गरेन, बेलायत साहित्यको विश्व केन्द्र पनि हो,’ सरुभक्तले भने, ‘यो यात्रा मेरा लागि विशेष हुने छ ।’ अंग्रेजी साहित्यको विद्यार्थी भएकाले त्यहाँको साहित्यलाई स्कुले बेलादेखि नै अध्ययन गर्ने र बुझ्ने अवसर पाएको उनी बताउँछन् ।

बेलायतमा पोखरेली मञ्च युकेले सरुभक्तको विशेष कार्यक्रम राखेको छ । पोखरेली मञ्च युकेको आयोजनामा सरुभक्तको नवीन उपन्यास प्रतिगन्धको अन्तर्राष्ट्रिय लोकार्पण हुने कार्यक्रम संयोजक लालप्रसाद गुरुङले जानकारी दिए ।

विभिन्न चरणमा सरुभक्तको विशेष कार्यक्रम हुनेछ । ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नाम दिएर मञ्चले लण्डनमा मञ्चले कार्यक्रम गर्न लागेको अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले प्रतिगन्धको अन्तर्राष्ट्रिय लोकार्पण गर्नेछन् । राजदूत सुवेदी साहित्यमा दुबुसु क्षेत्रीका नामले चिनिन्छन् । पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पणपछि सरुभक्तसँग अन्तरसंवाद हुने छ । अर्को चरणमा सरुभक्तले साहित्यिक अनुसभव र अनुभूती सुनाउने छन् । एउटा चरणमा सरुभक्तले केही प्रतिनिधि कवतिासँगै गजल, मुक्तक सुनाउने छन् । त्यसपछि बेलायतमा बसोबास गर्ने गायक गायिकाले सरुभक्तका लोकपि्रय गीत गाउने अर्का कार्यक्रम संयोजक सुधा गुरुङले जानकारी दिइन् । कार्यक्रममा सरुभक्तको किताब हस्ताक्षरसमेत हुने छ ।

पोखरेली मञ्च युकेले विभिन्न शैक्षिक, खेलकुद र सामाजिक काम गर्दै आएको छ । मञ्चले पहिलो पटक साहित्यिक कार्यक्रम गर्न लागेको अध्यक्ष मानप्रसादले बताए । अघिल्लो महिनामात्र साहित्यकार सरुभक्तको प्रतिगन्ध पोखरामा लोकापर्ण भएको थियो । सरुभक्तका झण्डै ५० पुस्तक प्रकाशित छन् । उनको पागल बस्ती उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment