+
+
Shares

जेनजीलाई मन्त्री गौतमले भनिन्– सरकारमाथि विश्वास राख्नुस्, काम गर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानुनमन्त्री सोबिता गौतमले जेनजी आन्दोलनका शहीद, घाइते र पीडितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
  • उनले भदौ २३ को जस्तो गोलीकाण्ड फेरि नदोहोरियोस् भन्दै शहीद परिवार, घाइते र आन्दोलनसँग जोडिएकालाई एकजुट हुन आग्रह गरिन् ।
  • गौतमले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको र धैर्य राखे सबै कुरा ठीक ठाउँमा आउने बताइन् ।

२३ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलका शहीद तथा घाइतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन् । जेनजी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भइरहेको बताइन् ।

भदौ २३ गते नागरिकमाथि गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन् ।

‘यो स्मृति दिवसमा हामी सबैले सङ्कल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस् । यहाँहरूका मागहरू धेरै छन्,’ उनले भनिन्, ‘ती मागहरू सम्बोधन गर्नको लागि हामी हरेक दिनजसो अहिलेको सरकारमा रहनुभएका मन्त्रीहरू, अहिलेका संसदमा रहनुभएका सांसदज्यूहरू हरेक दिनजसो कुनै न कुनै तवरले हामी भेटिरहेका छौँ, सरसल्लाह गरिरहेका छौँ, हामी कसरी सहयोग गर्न सक्छौं ।’

शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन् । जेनजीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उनको भनाइ थियो ।

‘हामीलाई सरकारको संरचनाभित्र काम गर्ने तौरतरिकाहरू जान्नकै लागि पनि थोरै समय लागेकै हो । यहाँहरूको धैर्यताको बाँध पक्कै पनि अलिकति फुट्ने अवस्थामा हो कि भन्ने कुरा अनुमान लगाउन सकिन्छ । तर यति भन्छु, जुन पीडा तपाईंहरूलाई भएको छ, त्यो त्यत्तिकै पीडा हामीहरूलाई पनि छ,’ मन्त्री गौतमले भनिन्, ‘हामी पनि त्यति चैनले निदाउन सकिरहेका छैनौं । त्यसकारणले दिन पक्कै पनि आउँछ । तपाईंहरूकै साथमा छौं, तपाईंहरूले भनेका हरेक विषयलाई हामीले पूरा गर्नको लागि कसरी सही ढङ्गले गर्न सकिन्छ भनेर हरबखत छलफल गरिरहेका छौं, प्रयत्न गरिरहेका छौं ।’

आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व रोजेकोले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको बताइन् । सरकार गठन भएको करिब पाँच महिना मात्र भएको बताउँदै उहाँले यस अवधिमा सरकार सञ्चालन सहज नभएको उल्लेख गरिन् ।

‘ढिलो–चाँडो सबै कुरा ठीक ठाउँमा आउँछ, धैर्यता राखिरहनुपर्‍यो, एक ठाउँमा बसिरहनुपर्‍यो, एकआपसमै लड्न थाल्यौँ, एकआपसमै दोषारोपण गर्न लाग्यौँ भनेदेखिन् त विरोधीहरू जो हाम्रो विरोधमा, जो हाम्रो फुटमा खुशी हुन्छन्, तिनीहरूले स्पेस पाउँछन्,’ मन्त्री गौतमले भनिन्, ‘त्यसकारणले सही मान्छेहरू एक ठाउँमा उभिरहनुपर्‍यो, एकआपसलाई धैर्यता र साहस दिइरहनुपर्‍यो, हिम्मत दिइरहनुपर्‍यो । त्यसो भयो भनेदेखि यो देश पक्कै पनि बन्छ । हामीले नियत सफा राख्यौँ भनेदेखि देश बन्न धेरै समय लाग्दैन । यति भन्छु, यो सरकार सफा नियतसहित आएको छ ।’

सरकारसँग प्रतिनिधिसभामा पर्याप्त संख्या भएपनि कानून निर्माण लगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उनको भनाइ छ ।

‘तपाईंहरूले भनेका हरेक सपनाहरू, हाम्रा सहिदले देखेका हरेक सपनाहरू, घाइते साथीहरूले देख्नुभएका हरेक सपनाहरू पूरा गर्नको लागि यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ । हामी बिस्तारै गर्दैछौँ, सबै कुरा व्यवस्थित तरिकाले गर्दैछौँ, ठिक तरिकाले गर्दै छौँ । यो सरकारमाथि विश्वास राख्नुस्, यो सरकारले गर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?